सरकारले ल्यायो १८ खर्ब ६० अर्ब बढीको बजेट


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १५ जेष्ठ २०८१, १९:३० मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १५ जेठ
सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गरेका हुन् ।
कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ ।
सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ । अर्थमन्त्री पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।
‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु,’ अर्थमन्त्री पुनले भने ।

छुटाउनुभयो कि ?