प्रतिक्षा जैशी
कञ्चनपुर, १३ जेठ /
प्यारा ताल परिसरमा दुर्लभ पाटे बाघको प्रतिमा निर्माण हुने भएको छ । पुनर्वास उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा समाजसेवी विश्वनाथ बिष्टले व्यक्तिगत लगानीमा पाटे बाघको प्रतिमा निर्माण गर्ने घोषणा गरेका छन् ।
जैविक महत्वको पर्यटकीय क्षेत्र प्यारा तालको पर्यापर्यटन विकासमा सघाउ पुगाउने उदेश्यले पाटे बाघको प्रतिमा निर्माण गर्ने बिष्टले घोषणा गरेका हुन् ।
कञ्चनपुरको पुनर्वास स्थित सदावहार जलाशय प्यारा तालको जैविक पहिचान उजागर गर्दै पर्यापर्यटनको विकास गर्न नागरिक स्तरबाट शुरु गरिएको अभियानलाई सघाउ पुगाउन संस्थापक अध्यक्ष बिष्टले व्यक्तिगत एक लाख ४० हजार रुपैयाँ लगानी गरेर पाटे बाघको प्रतिमा निर्माण गर्ने गरी आईतबार सहमति भएको प्यारा ताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्रकुमार बस्नेतले बताए ।
उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष बिष्टले नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको जैविक महत्वको तालको पर्यापर्यटन विकासका लागि नागरिक स्तरबाट सुरु गरिएको अभियानलाई सघाउदै पाटे बाघको प्रतिमा निर्माण गर्न लागेको बताए ।
यसअघि कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर एण्ड केमिकल ईन्डष्ट्रीले प्याराताललाई थप सुन्दर बनाउन जरायोको प्रतिमा सहमति गरिसकेको छ । प्याराताल परिसरमा जरायोको प्रतिमा बनाउने बारे एक लाख ३० हजार रुपैयाँमा भागेश्वर सुगर एन्ड केमिकल इन्डष्ट्रीका प्रबन्ध निर्देशक लालबहादुर बोगटीसँग सम्झौता भइसकेको छ ।
ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गत असार २६ गतेदेखि नागरिक स्तरबाट अभियानको थालनी गरिएको अध्यक्ष बस्नेतले बताए ।
नागरिकस्तरबाटै सहयोग संकलन गरेर ताल परिसरमा सेल्फि स्पट, कछुवा, ओद, माछा, पानीको फोहोराको जग निर्माणको काम सकिएको प्याराताल पर्यटन प्रबद्र्धन तथा संरक्षण समितिका सचिव प्रेमप्रसाद जैशीले बताए । गोही, मयुर र कमलको फूलको प्रतिमा निर्माणको काम चलिरहेको सचिव जैशीले बताए । वडा नम्बर ९ को लगानीमा वाटर फाउन्टेनको जग निर्माण गरिएको छ ।
कञ्चनपुर जिल्लाको दक्षिण–पूर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका–९, बिचफाँटा स्थित ताल भारतको दुधुवा नेशनल पार्कसँग जोडिएको छ ।
५ किलोमिटर लम्बाई र ६० मिटर चौडाइ भएको विविधताले भरिपूर्ण प्यारा ताल सदाबहार जलाशय हो । प्याराताल विश्वमै दुर्लभ जलचर ओद, सुन गोहोरो, गोही, थुप्रै प्रजातिका माछा, कछुवा लगायत जलचर प्राणीहरूको वासस्थान समेत हो ।












