हेल्लो संवाददाता
धनगढी, १३ जेठ
नेपाल पर्यटन पत्रकार संघ कैलालीको कार्यसमिति हेरफेर गरिएको छ । आईतबार धनगढीमा बसेको बैठकले कार्यसमिति हेरफेर गरेको हो ।
बैठकले उपाध्यक्षमा लामो समयदेखि वन पर्यटनको क्षेत्रमा कलम चलाउदै आएकी जमुना न्युरेलाई मनोनित गरेको छ ।
उपाध्यक्ष ईन्दु के.सी.लाई सचिवको जिम्मेवारी दिएको छ । सचिव शेरबहादुर ऐरलाई सह–सचिवको जिम्मेवारी दिएको छ । सह–सचिव विवेक नागरीलाई सल्लाहकारमा मनोनित गरेको छ । अध्ययनको शिलशिलामा जापानमा रहेकी संगिता खड्का र हाल काठमाण्डौमा रहेर पत्रकारिता गरिरहेका हेमराज भट्टलाई बैठकले हटाउने निर्णय गरेको छ । समितिका सदस्यद्धय खड्का र भट्ट संघमा स्थापना कालदेखि सक्रिय भएर काम गरेका थिए ।
बैठकले अनिल पन्त र प्रतिक्षा जैशीलाई सदस्यमा मनोनित गरेको छ । एक जना भने अब बस्ने बैठकले मनोनित गर्ने निर्णय गरेको छ ।
नेपाल पर्यटन पत्रकार संघ कैलालीको अध्यक्षमा भिमबहादुर चौधरी, वरिष्ठ उपाध्यक्षमा रंजित लामा, कोषाध्यक्षमा सविता बुढा, सह–सचिवमा कैलाश जोशी र सदस्यहरुमा प्रिन्स बि.क., घनश्याम पौडेल, तेज बोहरालाई भने यथावत राख्ने बैठकले निर्णय गरेको छ ।
बैठकले हालसम्म गरेको कामको समिक्षा गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा थप सशक्त भएर लाग्ने निर्णय गरेको छ ।












