हेल्लो संवाददाता
धनगढी, ८ जेठ
टीकापुरको जग्गा हिनामिनाको अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोली टीकापुर पुगेको छ ।
प्रहरी नायव उपरीक्षक नेतृत्वको टोली जग्गा हिनामिनाको अनुसन्धान गर्न फिल्डमा खटिएको हो ।
टीकापुरको सार्वजनिक जग्गा हिनामिना गर्न तत्कालिन नगर विकास समितिका अध्यक्षहरु नै संलग्न भएपछि सिआइबीले यसको विस्तृत अध्ययन गर्न लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको सार्वजनिक जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ ।
अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकोमा प्रहरीले लिखत किर्ते सम्बन्धमा अनुसन्धान अघि बढाएको हो । टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए ।
गत माघ २५ गते अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
टीकापुर नगर विकास समितिको नाममा नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाको अभियोगमा उल्लेख छ ।
टीकापुर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजात जस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिद लगायतका किर्ते गरी जग्गा हिनामिना भएको थियो ।
यसमा तीन सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने देखिएको सिआइबीले जनाएको छ । अख्तियारले नगर विकास समितिका पूर्व अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ । मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि प्रतिवादी कायम गरेको छ ।
पूर्व अध्यक्ष जोशी सुरुमा नेपाली कांग्रेस निकट भएपनि विजय गच्छदारले कांग्रेस पार्टी छाडेर फोरम लोकतान्त्रिक गठन गरेपछि गच्छदारसँगै उनी फोरममा लागेका थिए । गच्छदारसँग सम्बन्ध बढाएर टीकापुर नगर विकास समितिको अध्यक्ष बनेका जोशी त्यसपछि माओवादीमा डाक्टर बाबुराम भट्टराई नजिक भएका थिए । जोशी हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य छन ।
पूर्व अध्यक्ष ताम्राकार सुरुमा माओवादी पार्टीमा आबद्ध रहेका थिए । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँगको निकट सम्बन्ध भएका कारण टीकापुर विकास समितिको अध्यक्ष बनेका थिए । पछिल्लो समय ताम्राकार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य छन ।
पूर्व अध्यक्ष कुँवर नेपाली कांग्रेसको तर्फबाट कैलालीबाट निर्वाचित पूर्व सांसद पनि हुन । कांग्रेस सत्तामा हुँदा उनी दुई पटक विकास समितिको अध्यक्ष बनेका थिए ।
एमालेका स्थानीय नेता खत्री समितिमा एमालेको प्रतिनिधि भएर काम गरेका थिए । खत्री गत निर्वाचनमा एमालेबाट टीकापुर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेपनि पराजित भएका थिए ।
माओवादीका स्थानीय नेता खडकबहादुर शाह टीकापुर नगरपालिकाका उपमेयर हुन । उनले समितिमा माओवादी पार्टीको प्रतिनिधित्व गरेका थिए ।












