हेल्लो संवाददाता
धनगढी, ८ जेठ
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्था रहेको बताएका छन ।
मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख मियाँले संविधान मार्फत मुस्लिम समुदायको लागि थुप्रै अधिकार स्थापित भएको र अब कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताए ।
‘हाम्रो सबै भन्दा राम्रो संविधान बनेको छ । उक्त संविधानले मुस्लिम समुदायलाई थुप्रै अधिकार दिएको छ । त्यस्तो अधिकार छिमेकी मुलुकमा पनि छैन’ उनले भने, ‘अब अधिकार स्थापित गर्नुपर्छ ।
प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिकहरूको चेतनाको स्तर बढाउन आवश्यक रहेको टिप्पणी गरे । उनले शिक्षा स्वास्थ्य र नागरिकतामा समस्या रहेको भन्दै ती समस्या समाधान गर्न पनि आफूले भूमिका खेल्ने बताए ।
मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पनि मुस्लिम समुदायले अधिकार पाएको तर, पाएको पुरै अधिकार सुनिश्चित गर्न अझै नसकिएको बताए । उनले सबै प्रकारका सरकारी नियुक्ति र सरकारी सुविधा पनि उपस्थितिको आधारमा उपलब्ध हुनु पर्नेमा जोड दिए । संघीय निजामती विधेयक पारित भएपछि अझै सहज हुने अध्यक्ष अन्सारीले विश्वास व्यक्त गरे ।
मुस्लिम समुदायहरूको अझै पनि थुप्रै समस्या झेलिरहेको भन्दै ती समस्या समाधान गर्न प्रदेश प्रमुखले पनि भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे । उनले पहिलो पटक मुस्लिम समुदायबाट प्रदेश प्रमुख नियुक्त भएको प्रति पनि उत्साहित हुनुपर्ने बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले व्यक्तिगत घटना दर्ताको विषयमा आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले आरक्षण दिएर मात्रै चेतना विकास नहुने भन्दै समुदायमा सशक्तीकरण अभियान चलाउन आवश्यक रहेको बताएका ।
नेपाल मेडिकल एसोसिएसन प्रदेश सचिव डा. मेराज आलम अन्सारीले सुदूरपश्चिम प्रदेशमा पनि मुस्लिम आयोगको सम्पर्क कार्यालय खोल्न आग्रह गरे । शिक्षा स्वास्थ्य र रोजगारीको अवसर पाउनबाट पनि वञ्चित भएको र नागरिकता जन्म दर्ता र मृत्यु दर्ताबाट पनि धेरै समस्या रहेको भन्दै यस विषयमा चासो दिनुपर्ने उनले जोड दिए ।
मस्जिद मदर्सा मुस्लिम सेवा समाजका अध्यक्ष मोहम्मद नाइमुद्धिन भाटले अझै पनि धेरैले नागरिकता नपाएको भन्दै त्यस विषयमा चासो दिन आग्रह गरेका थिए । उनले सुदूरपश्चिम प्रदेशमा पनि लोकसेवा सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरे ।












