गर्मी छल्न कैलालीको हाटखोली


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ७ जेष्ठ २०८१, १८:१७ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, ७ जेठ
पछिल्लो समय कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको हाटखोली क्षेत्र गर्मी छल्न जाने पर्यटकको रोजाइमा पर्न थालेको छ ।
धनगढी–दिपायल फाष्ट ट्रयाकअन्तर्गत चुरे फेदमा रहेको हाटखोली तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करिब आठ किलोमिटरको दूरीमा उत्तरचुरे फेदीमा अवस्थित हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउन र यहाँको प्राकृतिक सुन्दरतासँग रमाउन धनगढी लगायतको क्षेत्रबाट पर्यटकहरु हाटखोली पुग्ने गरेका छन् ।
वनभोज खान जानेको पहिलो रोजाईमा समेत हाटखोली पर्ने गरेको छ । गर्मीमा मस्त नुहाउ पाईने भएकाले पनि वनभोज खानेको रोजाइमा हाटखोली पर्न सफल भएको छ । अन्य दिनको तुलनामा शनिबार र बिदाको दिन बढी भीड हुने गरेको स्थानीयहरुको भनाई छ ।
चुरे गाउँपालिका–४ र गोदावरी नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको चुरे गाउँपालिका–४ का स्थानीय हेमराज विष्टले बताए ।
स्थानीय प्रेम गुरुङले पर्यटकीय गतिविधि बढेपछि पछिल्लो समय होटेल खुल्नेक्रम थपिएको बताए । सो क्षेत्रमा वनभोज स्थलको विकास, प्राकृतिक तालको संरक्षण, मठ मन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।
हाटखोली क्षेत्रको मष्टाधामको पूर्वाधार विस्तारको काम भइरहेकाले अगामी वर्षमा जाजरी झरना, ग्वालादेउ मन्दिरको पूर्वाधार विकास र साइकल पदयात्रा विस्तारको काम गर्ने नगरपालिकाको योजना छ ।

छुटाउनुभयो कि ?