धनगढी, २ जेठ/
नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले बताए ।
६ वैशाखमा एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले २१ वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए ।
तर, एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाको किरियाकर्ममा रहेको र मुख्यमन्त्रीले सल्लाह नगरेको भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन । यद्यपी एमालेका प्रमुख सचेतक सुरेन्द्र पाल दलका नेता रावलको सल्लाहमा सत्तारुढ दलका नेताहरुको बैठकमा जाने गरेका थिए ।
एमालेले केन्द्रको निर्देशन नआएको भन्दै २१ वैशाखमा पनि विश्वासको मत दिन नसकिने बताएपछि बैठक स्थगित भएको थियो ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि ३ जेठको विहान सवा १० बजे सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाइएको छ ।












