भिम चौधरी
कञ्चनपुर, १ जेठ/
कञ्चनपुर प्रहरीले तीन महिनाको अवधिमा ९३ ग्राम १८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ । फागुन, चैत्र र बैशाख महिनामा प्रहरीले सो परिमाणको लागुऔषध खैरो हेरोइन बरामद गरेको हो । फागुन महिनामा १४ ग्राम ७४ मिलिग्राम खैरो हेरोइन बरामद गरेको कञ्चनपुर प्रहरीले चैत्र महिनामा ६२ ग्राम ८७२ मिलिग्राम र वैशाख महिनामा १६ ग्राम २३४ मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो ।
प्रहरीका अनुसार सोही अवधिमा ६८० ग्राम २६ मिलिग्राम चरेश बरामद गरेको छ । प्रहरीले लागुऔषधसहित ७७ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा चार जना भारतीय नागरीक पनि रहेका छन् । तीन महिनाको अवधिमा लागुऔषधसहित पक्राउ परेका ७३ जना नेपालीमध्ये ८ जना महिला रहेको प्रहरीले जनाएको छ । प्रहरीले सो अवधिमा लागुऔषधका ५१ वटा मुद्धा दर्ता भएको जनाएको छ ।
कञ्चनपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन महिनाको अवधिमा दुई सय ३८ मुद्धा दर्ता भएको जनाएको छ । सो अवधिमा २२ जना महिलासहित एक सय ९८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । प्रहरीले सो अवधिमा एक करोड ५९ लाख चार हजार ५३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको जनाएको छ । प्रहरीले फाल्गुन महिनामा ४८ लाख ५७ हजार ७७ रुपैयाँ, चैत्र महिनामा ४२ लाख ८५ हजार चार सय २५ रुपैयाँ र वैशाख महिनामा ६७ लाख ६१ ह्जार पाँच सय ५१ रुपैया बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
प्रहरीले तीन महिनाको अवधिमा एक सय १३ जना फरार प्रतिबादीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले फाल्गुन महिनामा ४३ जना, चैत्र महिनामा २९ जना र वैशाख महिनामा ४१ जना पक्राउ गर्न सफल भएको बताएको छ ।
प्रहरीले सो अवधिमा जुवातासमा खेल्दै गरेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ । पक्राउ गरेकाबाट एक लाख ३० हजार ३९ रुपैयाँ बरामद गरेको जनाएको छ ।
तीन महिनाको अवधिमा ९७ जना हराएकोमा ६२ जना फेला परेको प्रहरीले जनाएको छ । ४९ जनालाई सिमानाकाबाट उद्धार गरेको छ ।












