प्रतिक्षा जैशी
धनगढी, ३० वैशाख/
धनगढीमा तस्करका दुई जासुस प्रहरीको फन्दामा परेका छन् । प्रहरीले शनिबार र आईतबार गरेर दुई जना तस्करका जासुसलाई पक्राउ गरेको हो ।
शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का बुद्धिराम चौधरीलाई पक्राउ गरेको प्रहरीले शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ तारातालका ३२ वर्षीय पदम पार्कीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरु तस्करहरुका तर्फबाट प्रहरीको जासुसी गर्ने गरेको प्रहरीले बताएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ भगत चोकमा कपाल काट्ने व्यवसाय गर्दै आएका पार्कीले दिउँसो कपाल काट्ने काम गर्ने र रातको समयमा तस्करहरुलाई प्रहरीबारे सूचना दिने गरेको प्रहरीको भनाई छ ।
‘पार्कीले विगत ७/८ वर्षदेखि प्रहरीबारे तस्करलाई सूचना दिने गरेको बयान दिएका छन्’ जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कविन्द्रबहादुर बोहराले भने, ‘पार्कीले बङ्ग्रा कटानदेखि भगत चोकसम्मको सूचना तस्करलाई दिन्थे ।’
सूचना अधिकारी बोहराले भने, ‘पार्कीले प्रति सूचना बाफत तस्कर समूहबाट पाँच सय रकम लिने गरेको बयान दिएका छन् ।’
तस्कर समूहका लागि प्रहरी गस्ती टोलीको रेकी गरीरहेका बुद्धिराम चौधरीलाई निजले प्रयोग गर्ने गरेको से ४ प ५८६१ नम्बरको स्कुटीसहित पक्राउ गरेको थियो ।
चौधरीले पनि लामो समयदेखि प्रहरीको गस्ती टोलीको रेकी गर्ने गरेको प्रहरीले जनाएको छ । चौधरीले जिल्ला प्रहरी तथा मातहतबाट खटिने प्रहरीको गोप्य रुपमा रेकी गरी प्रहरी रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका तस्करको समूहलाई सूचना दिने गरेको प्रहरीले बताएको छ ।












