विश्व हिन्दु युवा संघको नेतृत्वमा सम्राट सिंह ठकुरी : नयाँ पुस्ताको विश्वास, नयाँ यात्राको सुरुवात


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, २० श्रावण २०८३, १२:२६ मा प्रकाशित

हेल्लो समाचारदाता
कैलाली, २० साउन ।
धर्म, संस्कृति र राष्ट्रिय पहिचानको पक्षमा निरन्तर सक्रिय रहँदै आएका युवा अभियन्ता सम्राट सिंह ठकुरी अहिले विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पुगेका छन्। यो जिम्मेवारी केवल एउटा पद प्राप्ति मात्र नभई संगठनलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र युवा नेतृत्वको नयाँ अध्यायसँग जोडिएको अवसरका रूपमा हेरिएको छ।विद्यार्थी जीवनदेखि नै समाजसेवा, नेतृत्व विकास र युवालाई संगठित गर्ने अभियानमा सक्रिय ठकुरीले हिन्दू धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणलाई आफ्नो प्राथमिकतामा राख्दै आएका छन्। यही निरन्तर सक्रियताले उनलाई देशभरका हिन्दू युवामाझ परिचित र विश्वासिलो नेतृत्वका रूपमा स्थापित गरेको छ।
राजनीति र सामाजिक अभियानसँगै खेलकुद, विशेषगरी बक्सिङप्रति उनको विशेष रुचि र राम्रो दखल रहेको बताइन्छ। बक्सिङले सिकाएको अनुशासन, आत्मविश्वास, धैर्यता र चुनौतीसँग जुध्ने क्षमताले उनको नेतृत्व शैलीमा समेत सकारात्मक प्रभाव पारेको निकटस्थहरू बताउँछन्। निडर, स्पष्टवक्ता र चुनौतीलाई प्रत्यक्ष सामना गर्ने स्वभाव उनका प्रमुख व्यक्तिगत विशेषतामध्ये एक मानिन्छ।
कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेसँगै उनले संगठनलाई अझ व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने लक्ष्य अघि सारेका छन्। आगामी राष्ट्रिय सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्दै संगठनलाई नयाँ ऊर्जा, स्पष्ट कार्यदिशा र बलियो संगठनात्मक संरचना प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत रहेका ठकुरी लामो समयदेखि हिन्दू धर्म, संस्कृति तथा हिन्दू राष्ट्रको पक्षमा विभिन्न जनचेतनामूलक अभियान र संगठन निर्माणमा सक्रिय छन्। सुदूरपश्चिमदेखि राजधानी काठमाडौंसम्म संगठन विस्तारमा उनको उल्लेखनीय भूमिका रहेको छ।
दार्चुलाको मार्मा गाउँपालिका उनको पुर्ख्यौली थलो हो भने कैलालीको अत्तरिया अहिले उनको कर्मभूमि बनेको छ। महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गरेका उनले विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमता र संगठन निर्माणको दक्षता प्रदर्शन गरेका थिए।
धार्मिक र सामाजिक अभियानमा पूर्ण रूपमा समर्पित हुनुअघि उनले गीत–संगीत तथा मोडलिङ क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाएका थिए। ‘चौलानीका छालैछाल’ लगायतका गीतमार्फत दर्शकमाझ परिचित बनेका उनी पछि समाज, संस्कृति र राष्ट्रका विषयलाई जीवनको मुख्य उद्देश्य बनाउँदै सार्वजनिक जीवनमा सक्रिय भएका हुन्।
उनको नेतृत्व शैली कार्यकर्तासँगको प्रत्यक्ष संवाद, संगठन विस्तारप्रतिको सक्रियता र युवालाई प्रेरित गर्ने क्षमताले परिचित छ। संगठनभित्र एकता, अनुशासन र समर्पणलाई प्राथमिकता दिने उनी कठिन परिस्थितिमा पनि दृढ अडानका साथ निर्णय लिन सक्ने नेतृत्वका रूपमा चिनिन्छन्।
कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनले प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, विभागीय संयोजक तथा सम्पूर्ण कार्यकर्तालाई साझा लक्ष्यका साथ अघि बढ्न आह्वान गरेका छन्। संगठनलाई देशव्यापी रूपमा थप सशक्त बनाउने, युवाको सहभागिता बढाउने र आगामी राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक बनाउने उनको लक्ष्य रहेको छ।
धर्म, संस्कृति, सामाजिक सक्रियता, खेलकुदप्रतिको लगाव र संगठन निर्माणलाई समान महत्व दिँदै अघि बढिरहेका सम्राट सिंह ठकुरीको नेतृत्व यात्रालाई धेरैले चासोका साथ नियालिरहेका छन्। आगामी दिनमा उनको नेतृत्वले विश्व हिन्दु युवा संघलाई कस्तो दिशा दिन्छ भन्ने विषय संगठनभित्र मात्र होइन, युवा नेतृत्वलाई नियाल्ने धेरैका लागि पनि महत्वपूर्ण बनेको छ।

छुटाउनुभयो कि ?