धनगढी १२ बैशाख/ धनगढीस्थित मदिरा व्यवसायी संघ कैलालीले बजारमा देखिएको मदिराजन्य वस्तुमा हुने लिकेज तथा ब्रेकज समस्याको शीघ्र समाधान गर्न सम्बन्धित कम्पनीलाई कडा आग्रह गरेको छ। संघले मिति २०८३ वैशाख ११ गते जारी गरेको पत्रमार्फत यस्तो समस्या लामो समयदेखि दोहोरिँदै आएको र व्यवसायीहरू आर्थिक रूपमा मारमा परेको जनाएको हो। संघका अनुसार विभिन्न कम्पनीका उत्पादनमा निरन्तर रूपमा लिकेज तथा ब्रेकजका गुनासा आइरहेका छन्। यस विषयमा कम्पनीका प्रतिनिधिहरूलाई पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा पनि अपेक्षित सुधार नदेखिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। हालको चुनौतीपूर्ण व्यावसायिक वातावरण, घट्दो क्रयशक्ति र बढ्दो प्रतिस्पर्धाका बीच यस्ता समस्याले व्यवसायीलाई थप आर्थिक क्षति पुर्याइरहेको संघको भनाइ छ। साथै, यसले उपभोक्ता विश्वासमा समेत नकारात्मक असर पार्ने र दीर्घकालीन रूपमा आपूर्ति प्रणालीमै असर पर्ने चेतावनी दिइएको छ। संघले चालु आर्थिक वर्षभित्रै उक्त समस्या समाधान गर्न अनुरोध गर्दै तोकिएको अवधिमा सुधार नभए कम्पनीका उत्पादनको बिक्री–वितरण रोक्न बाध्य हुने चेतावनीसमेत दिएको छ। मदिरा व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम बहादुर धामी र महासचिव कमल बमद्वारा हस्ताक्षरित पत्रमा समस्या समाधानतर्फ गम्भीर पहल गर्न कम्पनीलाई पुनः ध्यानाकर्षण गराइएको छ।












