तीन दिनदेखि नियन्त्रणबाहिर डढेलो


हेल्लो सुदुर हेल्लो सुदुर शनिबार, १२ बैशाख २०८३, ११:५६ मा प्रकाशित

बेलौरी (कञ्चनपुर), वैशाख १२ गते । कञ्चनपुरको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । लगातार तीन दिनदेखि निकुञ्ज क्षेत्र अन्तर्गतका वनक्षेत्र तथा डिभिजन वन कार्यालय अन्तर्गतका वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो । बेलौरी, बेलडाँडी, लालझाडीलगायतका वनक्षेत्रमा लागेको डढेलोका कारण सामुदायिक वनक्षेत्र जलेर सखाप भएको स्थानीय बताउँछन् । डढेलोका कारण जङ्गली जनावर वासस्थान छोड्न बाध्य भएका छन् भने नजिकका गाउँमा समेत दुर्गन्ध फैलिएको वनसाहका बासिन्दा रमेश रानाले बताउनुभयो । वनमा हुने आगजनीका घटना न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले थुप्रै प्रयास गर्दै आए पनि डढेलो नियन्त्रणबाहिर पुगेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरले बताउनुभयो । गर्मी समय सुरु भएयता वनक्षेत्रमा लाग्दै आएको डढेलो यस वर्ष पनि नियन्त्रणमा ल्याउन नसकिएको उहाँको भनाइ थियो । उहाँले डढेलो नियन्त्रणका लागि यहाँका सामुदायिक वनलाई आवश्यक हाते उपकरण वितरण गरिएको पनि बताउनुभयो । यसका साथै समूहलाई वनक्षेत्रमा अग्निरेखा सफा गर्न निर्देशन दिइएको तथा प्रचारप्रसारका कार्यव्रmम सञ्चालनमा रहेको सूचना अधिकारी कुँवरले बताउनुभयो । डिभिजन वन कार्यालयले सामुदायिक वन क्षेत्रमा झाडी सफाइ, पुराना सुकेका काठदाउरा निकाल्ने काम गरिएको जनाएको छ तर डढेलो नियन्त्रणका लागि दमकल, ट्याङ्करलगायतका उपकरण भने कार्यालयसँग उपलब्ध नरहेको सूचना अधिकारी कुँवरले बताउनुभयो । अत्यावश्यक परेका बेला नजिकका स्थानीय तहसँग समन्वय गरिँदै आएको उहाँको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतका वनसमेत डढेलाका कारण सखाप भएका छन् । निकुञ्ज क्षेत्र अन्तर्गत राना दैजी, गोबरिया, बेलडाँडी, लालझाँडी, कुन्डालगायतका स्थानीयले डढेलोकै कारण गाउँमा दुर्गन्ध बढेको गुनासो गरेका छन् । स्थानीय देवकी थापाले सेन्चुरीमा लागेको डढेलोको कारण धुवाँ बस्तीसम्म उडेर आएपछि घरमा बस्नै मुस्किल भएको भीमदत्त नगरपालिका–१५, गोबरियाका स्थानीय देवकी थापाले गुनासो गर्नुभयो । निकुञ्जको सेन्चुरीमा लागेको डढेलोका कारण महेन्द्रनगर बजारसमेत दुर्गन्धित हुँदै आएको स्थानीय हिमाल थापाले बताउनुभयो । निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि प्रयास भने गरिँदै आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । उहाँले नेपाली सेनाको सहयोगमा कोदालोलगायतका हाते उपकरणको सहायताले डढेलो पन्छाउने काम हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर एकै पटक सल्कने डढेलो नियन्त्रणमा ल्याउन भने मुस्किल पर्छ ।” डढेलो मुख्यतया यहाँका स्थानीय गोठालो जाँदा, घाँस दाउरा लिन जाँदा मानवीय कारण लाग्दै आएको उहाँको भनाइ थियो । डढेलो नियन्त्रणका लागि निकुञ्ज कार्यालयसँग दमकल, ट्याङ्करलगायतका उपकरण भने नभएको सूचना अधिकारी कुँवरले बताउनुभयो । निकुञ्ज कार्र्यालयका अनुसार वनमा डढेलो लगाउने व्यक्तिमाथि एक वर्षसम्म कैद तथा बिगो अनुसारको कारबाही गरिने व्यवस्था रहे पनि हालसम्म कोही पव्रmाउ भने परेका छैनन् ।

छुटाउनुभयो कि ?