मालवाहक सवारीसाधनको भारवहन व्यवस्थामा कडाइ


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, ११ बैशाख २०८३, १०:१० मा प्रकाशित

काठमाडौँ, वैशाख ११ गते । यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाइ गर्ने सूचना जारी गरेको छ । सडक विभागले प्रत्येक वर्ष सडकको आयु र सुरक्षासँग मालवाहक सवारीसाधनले बोक्ने भारवहनले मुख्य भूमिका निर्वाह गर्ने भन्दै सूचना जारी गर्छ । हरेक वर्ष कडाइका साथ सूचना जारी हुने र त्यसको परिपत्र सम्बन्धित निकायमा पठाउने भए पनि कार्यान्वयनको पक्ष भने निकै कमजोर हुँदै आएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै प्रचलित कानुन अनुसार तोकिएको क्षमताभन्दा बढी भार बोक्ने सवारीसाधनमाथि कारबाही गरिने स्पष्ट पारेको छ । मालवाहक सवारीसाधनले ‘मालवाहक सवारीसाधन सञ्चालन निर्देशिका, २०७४’ (संशोधित) अनुसार तोकिएको भारवहन क्षमता अनिवार्य रूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । सवारी दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको क्षमता तथा सडकको अवस्था र प्राविधिक मापदण्डलाई आधार मानेर मात्र भार बोक्नुपर्ने विभागले जनाएको छ । मालवाहक सवारीसाधनले सुरुवाती विन्दु, मध्यविन्दु र गन्तव्य नजिकका तौल पुलमा अनिवार्य रूपमा तौल जाँच गर्नुपर्ने छ । यसरी तौल गर्दा तोकिएको सीमा नाघेमा तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागको भनाइ छ । सरकारी तथा निजीस्तरमा तौल पुल सञ्चालनमा आए पनि सरकारले यसअघि गरेको निर्णयलाई व्यवसायीले अटेर गर्दै आएका थिए । तोकिएको मापदण्डभन्दा बढी भार बोक्ने सवारी साधनलाई प्रचलित ऐन तथा नियमावली अनुसार जरिबाना, नियन्त्रण तथा अन्य कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ । भार नाघेको सामानलाई व्यवस्थापन गर्न सम्बन्धित सवारीधनी स्वयम् जिम्मेवार हुने विभागले जनाएको छ । सूचनामा विभिन्न प्रकारका ट्रक तथा मालवाहक सवारीसाधनका लागि अधिकतम भारवहन क्षमतासमेत निर्धारण गरिएको छ । जस अनुसार दुई एक्सलदेखि छ एक्सलसम्मका सवारीका लागि फरक फरक तौल सीमा तोकिएको छ । साथै रिजिड ट्रकका लागि अधिकतम ३५ टन र ट्रेलर/सेमी ट्रेलरका लागि अधिकतम ५५ टनसम्म मात्र भार बोक्न पाइने व्यवस्था गरिएको छ । विभागले नियमको पूर्ण पालना गर्न आग्रह गर्दै यसो नगरेमा कडा कारबाही हुने जनाएको छ । सडक सुरक्षामा सुधार, पूर्वाधारको दीर्घायु र दुर्घटना न्यूनीकरणका लागि यो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको सूचनामा भनिएको छ । विभागले यसअघि पनि यस्ता सूचना जारी गर्ने तर कार्यान्वयन हुन नसकेको नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले बताउनुभयो । भन्सार विभाग, नेपाल प्रहरीले लामो समयसम्म साथ नदिँदा समस्या बढ्ने बानियाँले उल्लेख गर्नुभयो । उहाँले विगत पाँच वर्षमा आठ वटा यस्ता सूचना प्रकाशन भएको र त्यसको कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । क्षमताभन्दा धेरै लोड बोक्दा सडक र सवारी दुवैमा असर पार्ने जान्दाजान्दै ओभरलोडसँग जोडिएको आर्थिक लेनदेनले कार्यान्वयमा समस्या आउने गरेको उहाँले स्पष्ट पार्नुभयो । लामो समयदेखि नागरिकस्तरबाट उठ्दै आएको आवाज अत्यधिक भारवहनका गाडीले सडकमा पु¥याएको क्षतिबारे यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनलाई लोड बोक्ने विषयमा कडाइको सूचना जारी गरेर सकारात्मक सन्देश दिएको बानियाँले बताउनुभयो । तथापि यातायात व्यवसायी नै कार्यान्वयन नहुने समस्या देखाउँछन् । धेरै पहिलेदेखि व्यवसायीले सामान ढुवानी गर्ने सवारीलाई क्षमता अनुसार सामान बोक्ने व्यवस्था गर्न माग गर्दै आएकोमा सरकारले पुनः यसको कार्यान्वयनमा चासो देखाएकोमा खुसी लागेको बानियाँले बताउनुभयो । यसको कार्यान्वयनमा आफूहरूले साथ दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

छुटाउनुभयो कि ?