खलङ्गा (दार्चुला), वैशाख १० गते । कोशी प्रदेशको पूर्वी धरानबाट सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुला पुगेर श्रममार्फत झोलुङ्गे पुल निर्माण भइरहेको छ । यहाँको व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा पूर्वका श्रमदाताको पसिनामार्फत पुल निर्माणसँगै पश्चिमको विकासमा समेत टेवा पुगेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङको समूहले काठा दुम्लिङमा श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गरिरहेको छ । प्रतिनिधि सभा सदस्य साम्पाङले गत चैत २४ गते पुलको शिलान्यास गरेयता पूर्व धरानबाट आएका १०३ जनाभन्दा बढी श्रमदाताले पुल निर्माणको काम निरन्तर गरिरहेको श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य महेन्द्र पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उनीहरूसँगै स्थानीय, जनप्रतिनिधि र दार्चुलाका स्थानीयले समेत श्रमदान गरिरहेका छन् ।’’ पुल निर्माणका लागि स्थलगत अनुमगन निरीक्षण (नापजाँच) पछि काठा दुम्लिङको मल्लो दुम्लिङ खोलामा झोलुङ्गे पुल निर्माण भइरहेको इन्जिनियर डम्मर लिम्बूले जानकारी दिनुभयो । उहाँले करिब ८० मिटर लामो पुल निर्माणका लागि अहिले श्रमदाताले गिट्टी कुट्ने, बालुवा सङ्कलन गर्ने तथा दुवैतर्फको जग खन्ने काम भइरहेको बताउनुभयो । स्थानीयले विगतदेखि नै प्रयोग गर्दै आइरहेको तुइन हटाएर भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न प्राविधिक अध्ययन टोली आए पनि अन्तर्राष्ट्रिय सीमानाकामा संरचना निर्माण गर्न दुई देशको सहमति चाहिने भएपछि सो टोलीले स्थानीय काठा दुम्लिङमा पुल निर्माण गरिरहेको हो । उहाँले स्थानीयको मागका आधारमा काठा दुम्लिङमा झोलुङ्गे पुल निर्माण भइरहेको बताउनुभयो । बर्सातको समयमा खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने गरेका कारण सो खोलामा पुल निर्माण गरिदिन प्राविधिक टोलीलाई आग्रह गरेको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले बताउनुभयो । उहाँले पुल निर्माणका लागि आवश्यक पर्ने लट्ठा तथा अन्य सामग्री खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । मौसम अनुकूल भए अबको एक दुई महिनामै पुल निर्माणको पूरा हुने इन्जिनियर लिम्बूले बताउनुभयो । पुल निर्माणका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गर्नुभएका प्रतिनिधि सभा सदस्य साम्पाङलाई देश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । राज्यको आँखा नपुगेको दुम्लिङमा प्रतिनिधि सभा सदस्य साम्पाङको अगुवाइमा पुल निर्माण हुन थालेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । स्थानीय प्रभात बुढाथोकीका अनुसार विद्यार्थी हिँड्ने, यार्चागुम्बा टिप्न जाने मूलबाटो तथा काठा दुम्लिङ, गोठान र कल्जु गाउँ जोड्ने गरी झोलुङ्गे पुल निर्माण भइरहेको हो । स्थानीय जानकी बुढाथोकीले गाउँमा विकास हुनु सकारात्मक भएको बताउनुभयो । नेपाल–भारत सीमामा झोलुङ्गे पुल बढी आवश्यक भएको स्थानीयले माग गरेका छन् । नेपालबाट सो गाउँसम्म सडक पु¥याउन सरकारले दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ । वडा नं २ को राङथलसम्म सडकको ट्र्याक खुलेको भए पनि दुम्लिङगाउँसम्म पुग्न अझै एक किलोमिटर सडक निर्माण गर्न बाँकी छ । दुम्लिङगाउँमा भारतसँग जोड्ने पुल नहुँदा तुइनबाट खसेर हालसम्म ३६ जनाले ज्यान गुमाउनु परेको स्थानीय महेन्द्रसिंह बुढाथोकीले बताउनुभयो ।












