कैलाली जिल्ला को चुरे गाउँपालिका–३ मा मरेको बोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ। मृतकहरू ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन्, जो सहोदर दाजुभाइ हुन्। बिहीबार उक्त मासु खाएपछि अचानक बिरामी परेका उनीहरूको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पताल मा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा उनीहरूकी आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय कान्छो छोरा दिपेश ताम्राकार पनि बिरामी परेका छन् र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरिएको पाइएको छ। घटना बिहीबार भए पनि शुक्रबार मात्र प्रहरीलाई जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई धनगढी ल्याएर उपचार थालिएको थियो। फार्म सञ्चालक मंगल साउद प्रहरी सम्पर्कमा आएका छन् र उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचारहरु












