तनहुँ, वैशाख ४ गते । ‘आमाको मुख हेर्ने दिन’ को अवसरमा देशभरका छोराछोरी आफ्नी आमाको सेवा गरी खुसी साटिरहँदा तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित ज्येष्ठ नागरिक मिलन चौतारी वृद्धाश्रममा भने सन्तानको पर्खाइमा वृद्ध आमाका आँखा रसाएका छन् । वर्षभरि सन्तानको बाटो हेरेर बसेका आमाहरूका लागि यो पर्व खुसीको सट्टा पीडाको भारी बनेको छ ।आश्रमको ढोकातिर एकोहोरिएर हेर्दै ७१ वर्षीया मिठुमाया पोख्रेलले भन्नुभयो, “आजको दिन त सबैले आमासँगै बिताउँछन्, हाम्रा सन्तान कता होलान्?” तीन छोरा र एक छोरी भएकी पोख्रेलले थप्नुभयो, “बुहारीको हेला र अपमान सहन नसकेर घर छोड्न बाध्य भएँ । यहाँ आइसकेपछि त उनीहरूले फोनसम्म गर्न छोडे ।” उहाँको घर लमजुङ सुन्दरबजार नगरपालिकाको पाउँदीढिकमा पर्छ । आश्रमका कार्यालय सचिव तथा व्यवस्थापक सफल पौडेलले यस दिनको दुःखद पक्षलाई थप प्रस्ट पार्दै भन्नुभयो, “आमाको मुख हेर्ने दिन भनेर अरू दिन त सन्तान नआए पनि आजको दिनमा चाहिँ आमालाई सम्झेर आउलान् भन्ने ठूलो आशा यहाँका आमाहरूमा हुन्छ । तर, दिनभर ढोका कुरेर बस्दा पनि कोही नआउँदा उहाँहरूको आँखाबाट खस्ने आँसुले दुखित तुल्याउँछ । पौडेलले भन्नुभयो, ‘‘यहाँको वास्तविकता नै यही हो, आमाहरू सन्तानले नहेरेकोले गर्दा यहाँ आश्रित हुनुपर्ने बाध्यता छ ।” राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यसमिति तनहुँद्वारा सञ्चालित सो आश्रममा हाल पाँच आमा र चार बुबा गरी नौ जना ज्येष्ठ नागरिक आश्रित छन् । आश्रमका अध्यक्ष तारानाथ घिमिरेका अनुसार दाताहरूको सहयोगमा चलिरहेको यस आश्रमले मानवीय सेवाका साथै गौ संरक्षणको कार्यलाई पनि निरन्तरता दिइरहेको छ । “हामीले यहाँ नौ वटा गाई पालेका छौँ । गाईको संरक्षण र स्याहारसुसार पनि दाताहरूकै सहयोगमा भइरहेको छ,” अध्यक्ष घिमिरेले भन्नुभयो । जन्मदिन, पुण्यतिथिलगायतका शुभ तथा विशेष अवसरमा दाताहरूले गर्ने खाद्यान्न तथा आर्थिक सहयोग नै आश्रम सञ्चालन र गौ संरक्षणको मुख्य आधार भएको उहाँले जानकारी दिनुभयो ।
आमाको सम्झनाः आश्रममा पुगेर मनाइयो पर्व
एकातिर सन्तानको अभावमा छटपटिएका वृद्धवृद्धा छन् भने अर्कोतिर आमा गुमाएका सन्ततिले वृद्धाश्रमलाई नै आमाको ममता पाउने थलो बनाएका छन् । आमा बित्नुभएकी व्यास नगरपालिका–२ मालेबगरकी बिना आले मगरले भन्नुभयो, “आमा नहुँदाको पीडा कस्तो हुन्छ भन्ने आज मलाई बोध भयो । यहाँका आमाहरूलाई आफ्नै आमाको स्वरूप मानेर सेवा गर्न पाउँदा मनमा केही शान्ति मिलेको छ ।” उहाँले आफ्ना दिदीबहिनीसँग मिलेर वृद्धाश्रमका आमाहरूलाई मिष्ठान्न भोजन गराउँदै केही खाद्यान्नसमेत सहयोग गर्नुभएको छ ।












