धनगढी, ३ वैशाख / कैलाली जिल्लामा पछिल्लो एक महिनाको तथ्याङ्कले समाजमा गम्भीर चिन्ताको संकेत देखाएको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको चैत महिनाको प्रगति विवरणअनुसार लागू औषध, आत्महत्या र सवारी दुर्घटनाका घटना उल्लेख्य रूपमा बढेका छन्। प्रहरीका अनुसार लागू औषध सम्बन्धी गतिविधि नियन्त्रणका क्रममा एक महिनामा ५४ जना पक्राउ परेका छन्। तीमध्ये १ महिला र ५३ पुरुष रहेका छन्। ३७ वटा मुद्दामा उनीहरूलाई कारबाही गरिएको र पक्राउ परेकाबाट चरेस, खैरो हिरोइन, गाँजा तथा ट्याब्लेट बरामद गरिएको जनाएको छ। अपराधको समग्र चित्र पनि त्यत्तिकै चिन्ताजनक देखिन्छ। सो अवधिमा २०३ वटा अपराधका मुद्दा दर्ता भएका छन् भने ७३ वटा जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन्। १९२ जना पक्राउ परिसकेका छन् भने अझै ५८ जना फरार छन्। पुराना मुद्दामध्ये ९४ पेन्डिङ रहेकोमा ४ वटा मात्र फछ्र्यौट हुन सकेका छन्। सबैभन्दा दुःखद पक्ष आत्महत्याको अवस्था हो। एक महिनाको अवधिमा मात्रै २८ जनाले आत्महत्या गरेका छन्। झुन्डिएर ज्यान गुमाउनेको संख्या २५ छ भने विष सेवन गर्ने ३ जना रहेका छन्। मृतकमध्ये पुरुषको संख्या बढी छ। उमेर समूह हेर्दा २१–३० वर्षका युवा सबैभन्दा बढी प्रभावित देखिएका छन्। सवारी दुर्घटनाले पनि उस्तै त्रासदी निम्त्याएको छ। एक महिनामा ७५ वटा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन्। अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको विश्लेषण छ। ती दुर्घटनामा ९५ सवारी साधन संलग्न रहेका थिए। यस्तै ट्राफिक कारबाहीमार्फत १ हजार ३३३ सवारी साधनलाई कारबाही गर्दा ११ लाखभन्दा बढी राजश्व संकलन गरिएको छ। भन्सार छली तथा राजश्व चुहावट नियन्त्रणका क्रममा ५२ लाखभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ। यी चुनौतीबीच प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। एक महिनामा मात्रै २३९ वटा कार्यक्रम सञ्चालन गरिएको छ, जसमा लागू औषध नियन्त्रण, ट्राफिक सचेतना, आत्महत्या न्यूनीकरण, लैङ्गिक हिंसा तथा साइबर अपराधसम्बन्धी कार्यक्रमहरू समावेश छन्। प्रहरीका अनुसार सो अवधिमा ४ हजारभन्दा बढी सुरक्षा गतिविधि सञ्चालन गरिएको छ भने २१ वटा आन्दोलनका कार्यक्रम पनि भएका छन्। समग्रमा हेर्दा कैलालीमा सामाजिक तथा आपराधिक चुनौतीहरू गम्भीर बन्दै गएको देखिन्छ। तथ्याङ्कले मात्र होइन, घटनाको प्रवृत्तिले पनि सरोकारवाला निकाय र समाजलाई थप सजग बन्न संकेत गरेको छ।












