कैलाली कांग्रेसद्धारा ओली र लेखक पक्राउको विरोध, तत्काल रिहा गर्न माग


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, १५ चैत्र २०८२, ०९:१४ मा प्रकाशित

कैलाली । नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। जिल्ला सभापति नारायण दत्त भट्टले एक विज्ञप्ति जारी गर्दै कानुन विपरीत दुवै जनालाई पक्राउ गरिएको उल्लेख गरिएको छ । ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई बिहानै निवासबाट संविधान र प्रचलित कानुन विपरीत प्रहरीले पक्राउ गरी गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको प्रति नेपाली कांग्रेस कैलालीको गम्भीर ध्यानाकर्षण भएको र सरकारको बदनियत पूर्ण कार्यको निन्दा एवं भर्त्सना गर्दै तत्काल रिहाइको जोडदार माग गर्दछौँ’विज्ञप्तिमा भनिएको छ । सरकारका यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको कांग्रेस कैलालीले जनाएको छ । सरकार गठन भएकै दिन प्रतिवेदन सार्वजनिक नगरी व्यक्ति पक्राउ गर्ने कार्य बहुमतको दम्भ र राजनीतिक प्रतिशोध साध्ने मनसायले गरेको प्रस्ट देखिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारको रवैयाले कानुनी राज्य र विधिको शासनको उपहास भएको कांग्रेस कैलालीको ठहर छ । घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिनको माग कांग्रेसले गरेको छ । विज्ञप्तिमा लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न तथा वर्तमान परिस्थितिको सामना गर्न पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध हुन पनि आह्वान गरिएको छ। ‘राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जान सरकारलाई आग्रह गर्दछु। आमजनताको विकास र सुशासन प्रतिको तीव्र आकंक्षालाई सम्बोधन गर्दै प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गर्न पार्टीका सबै साथीहरूलाई तयार रहन हार्दिक आग्रह ’उक्त विज्ञप्तिमा भनिएको छ ।

छुटाउनुभयो कि ?