काठमाडौं, १२ चैत/ मोरङ, कानेपोखरी गाउँपालिका-७ जहदास्थित सडकमा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को.१ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय विरेन्द्र कार्कीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा, धनुषाधाम नगरपालिका-३ धनुषाधाम बजारस्थित सडकमा धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००८ प ६५७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ धनुषाधाम बजार बस्ने ७५ वर्षीय राजेश्वर महराको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ओम दिर्घायु अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवा, कालिका गाउँपालिका-१ ग्राङजुङ डाँडा भीरस्थित सडकमा कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना.६ ख ५४९८ नम्बरको गाडी अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा चालक सोही गाउँपालिका-१ राम्चे बस्ने ३९ वर्षीय पासाङ तामाङ र गाडीमा सवार सोही गाउँपालिका-२ बस्ने २६ वर्षीय पेम्बा छेवाङ थोक्राको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












