एमाले सुदूरपश्चिम संसदिय दलको विवाद उत्कर्षमा हटाउला त दल नेता ?


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ९ चैत्र २०८२, ११:२१ मा प्रकाशित

एमाले सुदूरपश्चिम संसदिय दलको विवाद उत्कर्षमा हटाउला त दल नेता ?
धनगढी: धनगढीमा नेकपा एमाले भित्रको आन्तरिक विवाद चर्किँदै जाँदा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्व नै संकटमा परेको छ। राजनीतिक नियुक्ति प्रक्रियालाई लिएर सुरु भएको असन्तुष्टि अहिले दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको हो। संसदीय दलका नेता राजेन्द्र सिंह रावल माथि अस्पताल व्यवस्थापन समिति लगायतका विभिन्न निकायमा नियुक्ति गर्दा पार्टीसँग परामर्श नगरी एकलौटी निर्णय गरेको आरोप लागेको छ। प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी ले यी विषयमा पार्टी केन्द्रलाई औपचारिक रूपमा जानकारी गराइसकिएको बताएका छन्। यता, राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले रावल सम्पर्कविहीन भएको आरोप लगाउँदै संसदीय दलको कार्यालयमै तालाबन्दीसमेत गरेको छ। उनीहरूले नियुक्तिमा पक्षपात र चुनावमा असहयोगी व्यक्तिलाई जिम्मेवारी दिएको आरोप लगाएका छन्। आफूमाथि लागेको आरोपलाई रावलले पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले सबै नियुक्ति पार्टी नेतृत्वसँग परामर्श गरेरै गरिएको दाबी गरेका छन्। स्वास्थ्य समस्याका कारण केही समय सम्पर्कमा आउन नसकेको स्पष्टिकरण दिँदै उनले आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन्। खप्तड पर्यटन विकास समितिमा जमुना चन्दलाई सिफारिस गरेको विषयलाई लिएर विवाद निकालिएको भन्दै उनले महिला नेतृत्वलाई अघि बढाउनु गलत नभएको तर्क गरेका छन्। नेतृत्व परिवर्तनको चर्चा रावलको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै जाँदा संसदीय दलको नेतृत्व परिवर्तनको चर्चा तीव्र बनेको छ। स्रोतका अनुसार प्रदेश सांसदहरू वैकल्पिक नेतृत्व खोज्ने पक्षमा देखिएका छन्, तर अन्तिम निर्णयका लागि पार्टी केन्द्रको निर्देशन पर्खिरहेका छन्। दलको नेतृत्वका लागि तीन जना प्रमुख नेताले आकांक्षा देखाएका छन् । उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल, सामाजिक विकास समिति सभापति धर्मराज पाठकले आ–आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक छलफल गरिरहेका छन्। तर नेताहरूकै भनाइमा, व्यक्तिगत आकांक्षाभन्दा पार्टीको केन्द्र र प्रदेश तहको निर्णय नै निर्णायक हुनेछ।

छुटाउनुभयो कि ?