धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ जिल्ला कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिबेणी चोकस्थित घरबाट २ केजी ५८ मिलिग्राम चरेशजस्तो देखिने कालो पदार्थसहित सोही ठाउँका ६९ वर्षीय डम्मरबहादुर शाहीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले शाहीको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० किल्ला नम्बर ४ नजिकबाट शुक्लाफाँटा नगरपालिका–५ प्रगतीटोल बस्ने २४ वर्षीय हरिश भट्टलाई ८३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित आइतबार दिउँसो पक्राउ गरिएको छ। से ७ प २९३७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भट्टलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले चेकजाँचका क्रममा लागूऔषध फेला पारेपछि मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। त्यसैगरी, कञ्चनपुरकै बेलौरी नगरपालिका–१० सडकघाटबाट धनगढी उपमहानगरपालिका–१३ राजपुरका १८ वर्षीय दुई किशोरलाई १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।भारतबाट नेपालतर्फ संकास्पद रूपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।












