कैलाली–५ मा ढुंगानाको चुनावी दौड तीव्र, ‘सोचेभन्दा बढी माया पाइरहेको छु’


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ३ फाल्गुन २०८२, ११:५४ मा प्रकाशित

आइतबार, फागुन ०३, २०८२,धनगढी – कैलाली क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञ राज ढुंगाना ले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। घरदैलो अभियान, टोल–टोल भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त रहेका ढुंगानाले आफूले अपेक्षा गरेभन्दा बढी समर्थन र सद्भाव पाइरहेको बताएका छन्। मतदाता भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “म यहाँका सबै मतदातालाई व्यक्तिगत रूपमा चिन्दिनँ भन्ने लाग्थ्यो। तर वर्षौँदेखि गरेको जनसेवाको काम यहाँका नागरिकले नजिकबाट नियाल्नुभएको रहेछ। अहिले गाउँ–बस्ती पुग्दा सोचेभन्दा बढी माया पाइरहेको छु। यही माया र स्नेह नै मेरो जित्ने आधार हो।” उनका अनुसार निर्वाचन क्षेत्रका विभिन्न गाउँ, टोल र बस्तिमा पुग्दा विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका विषयमा नागरिकले राखेका सुझावलाई आफूले प्राथमिकताका साथ नोट गरिरहेका छन्। “मैले गर्नसक्ने मात्रै वाचा गरिरहेको छु। जनताका सुझाव सुन्दैछु। जे जनताले भन्नुहुन्छ, त्यही मेरो प्राथमिकता हुन्छ,” उनले भने। ढुंगानाले विशेषगरी स्वास्थ्य र शिक्षालाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्। कैलाली–५ मा गुणस्तरीय स्वास्थ्य सेवा पहुँच अभाव, विशेषज्ञ चिकित्सकको कमी तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार आवश्यक रहेको उनको भनाइ छ। “स्वास्थ्य र शिक्षा बलियो नभएसम्म समग्र विकास सम्भव छैन। स्थानीय तह र प्रदेशसँग समन्वय गरेर यी क्षेत्रमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले बताए। उनले युवालाई स्वरोजगारमुखी बनाउन सीप विकास कार्यक्रम विस्तार, कृषि तथा साना उद्योग प्रवर्द्धन, सडक तथा खानेपानी पूर्वाधार सुधारलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए। एमालेप्रतिको आकर्षण र आफ्नो व्यक्तिगत कामको मूल्याङ्कनका आधारमा कैलाली–५ मा जित सुनिश्चित रहेको दाबी उनले गरे। चुनावी मैदानमा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेका बेला ढुंगानाले भने विकास र जनताको विश्वास नै आफ्नो मुख्य आधार भएको उल्लेख गरे। “यो निर्वाचन केवल जित–हारको कुरा होइन, आगामी पाँच वर्षका लागि विकासको मार्गचित्र तय गर्ने अवसर हो,” उनले थपे।

छुटाउनुभयो कि ?