किशोर तामाङ
पुनर्वास, १५ असोज ।
कञ्चनपुरको पुनर्वासमा आर्थिक विकासमार्फत विपद जोखिम ब्यवस्थापन कार्यक्रम अन्तर्गत मौषम पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि वाढी प्रभावित घरघुरीहरुलाई नगद रकम सहयोग गरेको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले बाढीको उच्च जोखिममा रहेका सिमरी, रातोताल, दशरथबस्ती र विकासबस्ती गरी १ सय ७२ घरधुरीहरूलाई आवश्यक पूर्वतयारीका लागि नगद सहयोग गरेको हो ।
गत महिना आएको बाढीले दोदा नदीको धार परिवर्तन गर्न थाले पछि बाढी प्रभावित क्षेत्रहरुमा त्रास फैलिएको छ । पुनर्वास नगरपालिकाको समन्वयमा दशरथबस्ती नजिकै धार परिवर्तन भएको दोदा नदीमा जैविक तटवन्ध निर्माण कार्यको थालनी गरिएको थियो । तर एक साता नबित्दै उक्त तटबन्धमा प्रयोग गरिएका बास र पलाष्टिक बोराहरु समेत बगाएर लगेको छ ।
उक्त क्षेत्रको परियोजनाको तर्फबाट निरीक्षण गर्दै आगामी दिनमा यस योजनालाई पुनः निरन्तरतासँगै अहिले तत्काल पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि बाढीको उच्च जोखिममा रहेका दोदा नदी आसपासका क्षेत्रहरू सिमरी, रातोताल, दशरथबस्ती र विकासबस्तीका १ सय ७२ घरधुरीहरूलाई आवश्यक पूर्वतयारीका लागि आईएमई मार्फत नगद ५ हजार सहयोग गरिएको एनएनएसडब्ल्यूए एमरेड परियोजनाका टेक्निकल अफिसर पंकज तिवारीले बताउनुभयो । बाढी प्रभावित समुदायलाई ८ लाख ६० हजार रकम हस्तान्तरण गरिएको तिवारीले जानकारी दिनु भयो ।
विपद्को समयमा दैनिक उपभोग्य वस्तुको जोहो गर्न रकम निक्कै लाभदायक हुने स्थानीयले बताउँनु भयो । विपद्को बेला बिगत दिनहरूमा बाढीले पूर्ण रूपमा विस्थापित गरेपछि मात्र राहत सामानहरू बितरण गर्दै आएकोमा हाल पूर्व तयारीका लागि ‘नगद सहयोग प्राप्त भएकोमा पूर्व तयारीमा सतर्क रहने स्थानीय नन्दकुमार रानाले बताउनुभयो ।
यसैगरि नगद रकम आईएमईबाट तुरून्तै प्राप्त गर्न पाएकोमा सिमरी निवासी ७५ वर्षिया बृद्ध घुम्मा रानाले आफ्ना नानीबाबुहरूका लागि लत्ताकपडा, औषधी उपचार गर्न काम लाग्ने बताउनुहुन्छ । उक्त सहयोग रकम बुझ्दै स्थानीय हिरालाल राना यसो भन्नुहुन्छ “ हामीले बिपद आउनु अघि पाएको नगद रकमबाट आपनो प्राथमिकताका आधारमा भैपरि आउने समस्याहरु टार्न सकिने भयौ । बाढी प्रभावित भएपछि बाँडिने राहत हरूमा कहिले कहिँ आवश्यकता सामग्री भन्दा अर्कै सर–समान हरू पाउने भएकाले यसबाट आफ्नो हिसाबले सामग्री खरिद गर्न सक्छौ ।
पूनर्वास नगरपालिकाका उपप्रमुख भुलियाकुमारी रानाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेका घरपरिवारहरूलाई पूर्वानुमानमा आधारित पूर्वाकार्यका लागि नगद सहयोग गरेकोमा एनएनएसडब्ल्यूए र मर्सिकोर नेपाललाई धन्यवाद दिनुभयो । उहाँले यो रकमले संकटासन्न घरधुरीहरूलाई खाद्य सामग्री, बालबालिका लागि कपडा, औषधी उपचारलगायत अन्य अत्यावश्यक कामहरूको जोहो गर्न सहज हुने बताउनुभयो ।
परियोजनाले पूर्वकार्यका लागि स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई विद्युतीय जेनेरेटर र प्लाष्टिकको बोरा सिलाउने विद्युतीय मेसिन पनि हस्तान्तरण गरेको छ ।











