सुदूरपश्चिममा भौतिक पूर्वाधार मन्त्रालय फुटाइदै


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ६ जेष्ठ २०८१, १८:३४ मा प्रकाशित

धनगढी, ६ जेठ/
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाइने भएको छ । भागबण्डा मिलाउन भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने विषयमा सत्ता पक्षका दलहरुबिच सहमति भइसकेको बताइएको छ ।
नेकपा एमाले र माओवादीले दुई/दुई मन्त्रालय लिने अडान राखेपछि सो मन्त्रालय फुटाउन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत आर्जन गरे लगत्तै सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एमाले दुई/दुई मन्त्रीसहित सहभागि हुनेछन । अबको एक/दुई दिनभित्रै सरकारमा सहभागि हुने गरी तयारी भइरहेको नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले बताए ।
सुदूरपश्चिम प्रदेश सभामा अहिले माओवादीका सभामुखसहित ११ सासंद छन । नेकपा एमाले पनि उपसभामुखसहित ११ जना सासंद छन । सभामुख तटस्थ पद मानिने भएकाले एमाले अहिले संसदको दोस्रो ठूलो दल बनेको छ । दोस्रो ठूलो दलको हैसियतले उसले माओवादीभन्दा बढी मन्त्रालय पाउनुपर्ने माग गरिरहेको छ ।
माओवादी संसदीय दलले भने संसदमा अहिले नेकपा एमाले र माओवादीको हैसियत एउटै रहेको बताएको छ । त्यस कारण एमाले र माओवादी दुईदुई मन्त्रालयसहित सरकारमा सहभागि हुँदैछन ।
अहिले सत्तागठबन्धन दल प्रदेश सरकारमा भागबन्डा मिलाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाउने तयारीमा छन । रावलले सो मन्त्रालय फुटाउने विषयमा दलहरूसँग करिब सहमति नै भइसकेको बताए । बिहीवार एकीकृत समाजवादी पार्टीका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेको थिए । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन ।

छुटाउनुभयो कि ?