भिर खन्ने बेला माथिबाट खसेको माटोको ढिस्कोमा पुरिँदा दुई जना गम्भीर घाइते


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, १४ बैशाख २०८३, ११:५१ मा प्रकाशित

दार्चुलाको शैल्यशिखर नगरपालिका–७, बोहरी गाउँमा घर निर्माणका क्रममा भिर खन्ने बेला माथिबाट खसेको माटोको ढिस्कोमा पुरिँदा दुई जना (मनिराम लाबड र नितेश लाबड) गम्भीर घाइते हुनुभएको छ। आइतबार दिउँसो भएको उक्त घटनापछि घाइते दुवैलाई तत्काल गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि धनगढी (कैलाली) रेफर गर्नुपर्ने अवस्था आए पनि एम्बुलेन्स नपाइएको र नगरप्रमुख विजय सिंह धामीसँग सवारीको व्यवस्था गरिदिन अनुरोध गर्दा सहयोग नपाएको भन्दै स्थानीयले गुनासो गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण घाइतेलाई धनगढी लैजान कठिनाइ भएपछि दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्ना तथा शैल्यशिखर–७ का वडा अध्यक्ष पुष्पराज जोशीसँग समन्वय गरी दुई वटा गाडी बुकिङ गरेर धनगढी पठाइएको थियो। अहिले उहाँहरु दुबै जनाको कैलालीको धनगडी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको वडा अध्यक्ष पुष्प राज जोशीले जानकारी दिनुभयो । साथै घाइते दुबैजनाको उपचारमा पनि आर्थिक सहयोग गर्ने वडा अध्यक्ष जोशीेले प्रतिवद्धता व्यक्त गर्नुभयो । विपद्‌को समयमा नगरपालिकाबाट सवारी साधन उपलब्ध हुन नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। नगरपालिकामा भाडामा रहेका सवारी साधन हुँदाहुँदै पनि आपतकालीन अवस्थामा प्रयोग हुन नसक्नुले व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।

छुटाउनुभयो कि ?