भारत-नेपाल मित्रता जोड्दै बुढीतोला पर्यटन महोत्सवमा भारतीय पर्यटकलाई निम्तो


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, १३ बैशाख २०८३, १९:५८ मा प्रकाशित

धनगढी १३ बैशाख/ सुदूरपश्चिमको रमणीय पर्यटकीय गन्तव्य बुढीतोलामा आयोजना हुन लागेको “बुढीतोला पर्यटन महोत्सव” लाई अन्तर्राष्ट्रिय स्वरूप दिन आयोजक टोली भारतको पलियासम्म पुगेर विशेष निम्तो अभियान सञ्चालन गरेको छ। वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा भारतीय पर्यटकको उल्लेखनीय सहभागिता गराउने उद्देश्यले यो पहल गरिएको हो।बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले भारतको पलियामा पत्रकार सम्मेलन गर्दै महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिका संयोजक हरिदत्त भट्टराईका अनुसार नेपाल–भारत सीमा क्षेत्रसँगै पलिया, लखनउ, लखिमपुर लगायत सहरका पर्यटकलाई लक्षित गर्दै आकर्षक आवाससहित विशेष प्याकेजहरू तयार पारिएको छ। पर्यटन व्यवसायी अशोक मल्लले “गर्मीसे बेहाल, चलो बुढीतोला नेपाल” भन्ने सन्देशमार्फत भारतीय पर्यटकलाई शीतल र शान्त वातावरणको अनुभव लिन निम्तो दिइएको बताए। उनले गर्मीयाममा तराईको अत्यधिक गर्मीबाट राहत पाउन बुढीतोला उत्कृष्ट गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे। पर्यटन अभियन्ता भरतविक्रम शाहले तराई क्षेत्रमा बढ्दो गर्मीका बीच बुढीतोलाको चिसो मौसमले पर्यटक आकर्षित गर्ने बताउँदै भारतीय पर्यटकलाई प्रत्यक्ष निम्तो दिन पलिया पुगेको जानकारी दिए। त्रिनगर भन्सारबाट करिब ३८ किलोमिटर दूरीमा अवस्थित बुढीतोला प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। यहाँबाट कैलाली र कञ्चनपुरका समथर भू-भागसँगै भारतका विभिन्न सहरहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। शान्त, हरियाली वातावरणले अध्ययन, लेखन तथा साहित्य सिर्जनाका लागि समेत उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ। महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, स्थानीय परिकार, कला, भाषा र संगीत प्रस्तुति रहने आयोजकले जनाएको छ। यस महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाल–भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। बुढीतोला अब केवल पर्यटकीय गन्तव्य मात्र नभई दुई देशबीचको मित्रता, संस्कृति र सहकार्यको महत्वपूर्ण सेतु बन्ने लक्ष्य लिएको आयोजक समितिका संयोजक भट्टराईले बताएका छन् ।

छुटाउनुभयो कि ?