बैतडी, वैशाख १२ गते । भरुवा बन्दुक पड्किँदा घाइते भएका सूर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको उपचारका क्रममा निधन भएको छ । बुधबार आफ्नै भरुवा बन्दुकको छर्रा घाँटीमा लागेर गम्भीर घाइते भएका ४५ वर्षीय ऐरीलाई जिल्ला अस्पताल बैतडीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको थियो । अस्पतालमा चिकित्सकहरूले उपचार सम्भव नभएको बताएपछि उहाँलाई घर फर्काउने क्रममा शुक्रबार बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । घटनापछि स्थानीयवासी शोकमा डुबेका छन् । ऐरी सक्रिय जनप्रतिनिधिका रूपमा परिचित हुनुहुन्थ्यो र गाउँस्तरका विकास तथा सामाजिक कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट वडा सदस्यमा निर्वाचित ऐरीको असामयिक निधनप्रति गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले गहिरो दुःख व्यक्त गरेका छन् । उहाँको निधनले गाउँपालिकाले एक सक्रिय र अनुभवी जनप्रतिनिधि गुमाएको प्रतिक्रिया दिइएको छ ।












