काठमाडौँ । अब अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूले क्यूआर कोड स्क्यान गरेरै भए पनि स्वास्थ्योपचार सेवा दिनुपर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै बोर्डले डिजिटल कार्डको आधारमा सेवा दिनुपर्ने विषयलाई अनिवार्य गरेको हो । बिमितहरूको सहजताका बोर्डले सम्बन्धित स्वास्थ्य सेवा प्रदायकहरूलाई यस किसिमको निर्देशन दिएको हो । यससँगै अब स्वास्थ्य बीमाको परिचयपत्र (बीमा कार्ड) विभिन्न कारणले आफूसँग नभएको अवस्थामा नागरिक एप, एचआईबी प्रोफाइल लगायतका डिजिटल कार्ड मार्फत तयार भएको क्यूआर कोड स्क्यान गरी सेवा उपलब्ध गराउनु पर्नेछ । त्यसो त यस सम्बन्धमा बोर्डको २४ फागुन २०८० कै बोर्ड बैठकबाट निर्णय भई परिपत्र समेत जारी भइसकेको थियो । तर कतिपय सेवा प्रदायक संस्थाहरूले डिजिटल कार्ड मार्फत सेवा प्रदान नगरेको गुनासो प्राप्त भएको बोर्डले जनाएको छ । “अब उपरान्त यस व्यवस्थालाई अनिवार्य कार्यान्वयन गर्न/गराउनु हुन अनुरोध छ,” बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेण्ट डा पवनकुमार साहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ।












