बाजुरामा सुनसान बन्दै विद्यालय


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ६ बैशाख २०८३, ०९:१६ मा प्रकाशित

बाजुरा, वैशाख ६ गते । वैशाखको पहिलो सातादेखि बालबालिकाको चहलपहल बढ्ने बाजुराका विद्यालयहरू यस समयमा भने सुनसान बनेका छन् । २०७२ चैत ५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गरिए पनि नेपाल सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेपछि हाल विद्यालयहरू सुनसान बनेका हुन् । नेपाल सरकार तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएकाले सोही अनुसार नयाँ भर्ना प्रक्रिया अघि बढाइने हुँदा अहिले विद्यालयहरू सुनसान बनेको विद्यालयहरूले जनाएका छन् । पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमलनाथका अनुसार गत वर्ष यसै समयमा भर्ना कार्यक्रम सुरु भइसकेको थियो । तर यस वर्ष सरकारको निर्णयअनुसार वैशाख १५ गतेपछि मात्र भर्ना खुल्ने भएकाले विद्यालयमा चहलपहल कम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले पनि केन्द्रको निर्णय पालना गर्नुपर्ने भएकाले अहिले कतै पनि भर्ना खुलेको छैन । वैशाख १५ गतेबाट विद्यालय सञ्चालन हुन्छ, त्यसपछि मात्र नयाँ भर्ना लिइन्छ । वैशाख २० गतेदेखि पठनपाठन सुरु हुने योजना छ ।” बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज भट्टले शनिबार र आइतबार बिदा राख्दा पठनपाठनमा प्रभाव पर्ने भएकाले आइतबार बिदा नदिने निर्णय गरिएको जानकारी दिनुभयो । अन्य व्यवस्थापन भने नेपाल सरकारको निर्णयअनुसार हुने उहाँले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टका अनुसार गत वर्ष वैशाखको पहिलो सातामै नयाँ भर्ना सुरु भएको थियो । तर यस वर्ष सरकारले तोकेको मितिअनुसार वैशाख १५ गतेपछि मात्र भर्ना प्रक्रिया अघि बढाइनेछ । बाजुरामा कक्षा १ देखि ३ सम्म २२८, कक्षा ४ देखि ५ सम्म १७६, कक्षा ६ देखि ८ सम्म ११२, कक्षा ९ देखि १० सम्म ६७, कक्षा ११ देखि १२ सम्म २९ विद्यालय र तीनवटा क्याम्पस गरी कुल ६१५ शैक्षिक संस्था सञ्चालनमा रहेका छन् ।

छुटाउनुभयो कि ?