मुक्तिनाथ (मुस्ताङ), बैशाख ५ गते । मुस्ताङको थासाङ गाउँपालिका–२, घट्टेखोलामा शनिबारदेखि याक नाक (चौरी) को आलो रगत पिउने मेला सुरू भएको छ । हिमालय याक नाक संरक्षण समितिले आयोजना गरेको मेलाको पहिलो दिन छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतसहित कास्की, तनहुँ, चितवन लगायतका जिल्लाबाट सर्वसाधारणको भिड लागेको समितिका संयोजक बुद्धिरत्न तुलाचनले बताउनुभयो । संयोजक तुलाचनले भन्नुभयो, ‘‘पहिलो दिनमै थामिनसक्नु भिड लागेको छ, मेलाको आम्दानी कृषकलाई नै वितरण गरिन्छ, एकजन बिरामीले १ देखि १० गिलाससम्म आलो रगत पिउने गरेका छन् ।” प्रतिगिलासको तीनसय रूपियाँ तोकिएको छ । पहिलो दिन करिब दुईसय जनाको हाराहारीले याक नाकको आलो रगत पिएका छन् । हरेक बर्ष आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएकाहरुको रोजाइमा परेको मेलामा याकको मासु, नाकको रगतका लागि एक सातासम्म नजिकको होटलमा बसेर समेत दैनिक पुग्नेको संख्या हरेक बर्ष बढ्दैगएको छ । ग्याष्टिक, गानोगोला, तुस, अपच, हाडजोर्नी, नशासम्बन्धी रोग, यौन उत्तेजना बढ्नेलगायत समस्याहरु समाधान हुने जनविश्वास रहेको भए पनि चिकित्सा विज्ञानले भने रगतलाई तताएर खाँदा जिवाणुमुक्त हुने र भिटामिन र पोषणका लागि पनि राम्रो हुने भएकाले आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुने भएकाले तताएर, फुटेर खान उपयुक्त सुझाव दिने गरेका छन् । आलो रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राखेर विभिन्न पशुजन्य रोगविरुद्धमा निःशुल्क खोप लगाउने तथा औषधीहरु वितरण एवं पशु, चौपायाको स्वास्थ्यको समेत परीक्षण गरिएको छ । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा २५ गोठमा करिब १५ सयको हाराहारीमा रहेका याकनाकमध्ये मेलामा ७ सयको हाराहारीमा ल्याइएको छ । समुन्द्री सतहदेखि ३७ सय मिटर उचाइको हिमाली खर्कमा चरेका याकनाकहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जडीबुटी खाने भएकाले रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौन उत्तेजना आदि समस्या कम हुने जनविश्वास छ । घाँटीमा फलामको सानो र तिखो हतियार (चुलेसी) ले प्वाल पारेर रगत निकाल्ने गरिन्छ । हिमाली भेगमा पाइने, गोरुजस्तो देखिने भाले जनावर याक हो भने गाईजस्तो देखिने शुद्ध नश्लको पोथी नाकको संरक्षण, गोठ थप तथा समस्यामा परेका गोठालालाई समेत आम्दानीबाटै सहयोग गर्ने गरिन्छ । याकनाक मेला नै यहाँका चौरीपालक कृषकको सबैभन्दा राम्रो आम्दानीको स्रोत हो । आलो रगतसँगै मासुको प्रयोगजनका लागि याक बाहेक पर्यटकले घिउ, छुर्पी, सजावटका लागि याकको सिङ, पुछर, पित्त समेत बिक्री गरी एक करोडभन्दा बढीको आम्दानी हुन्छ । मेलाको अवलोकनका लागि मात्र १० हजारभन्दा बढी पर्यटक पुग्ने गरेको आयोजकले जनाएको छ । मेलाको अवसरमा खेलकुदसहित विभिन्न कार्यक्रमहरू हुने गरेको छ । मेला बैशाखको दोस्रो सातासम्म सञ्चालन हुनेछ ।












