धनगढीमा ‘मदिराले मातेका व्यापारीले निहुँ’ खाेजेकाे भन्दै कुटपिट, पावरकाे दम्भ देखाउदै थ्रेट गरेकाे आराेप


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, २२ चैत्र २०८२, १०:३४ मा प्रकाशित

धनगढी । धनगढीमा मदिरा सेवन गरेर मातेका व्यापारीले निहुँ खाेजेकाे भन्दै कुटपिट गरिएको घटना सार्वजनिक भएको छ तर पीडित व्यापारीले कानुनी उपचार खाेज्नुकाे सट्टा पावरकाे दम्भमा विभिन्न किसिमका थ्रेट दिइरहेकाे आराेप लागेकाे छ । चैत १६ गते सोमबार राति साढे १ बजे आसपास धनगढी-४ काे दक्षिणकाली मार्गस्थित ६ लेन सडकमा व्यवसायी विकास सिङ्घलमाथि कुटपिट गरिएको पाइएकाे हाे । सिंघललाई उनकी श्रीमती डाक्टर अनिसा अग्रवाल र पाँच वर्षीया छोरीकै अगाडि चार जना युवाको समूहले मरणाशन्न हुने गरि कुटपिट गरिएको पीडित सिंघलका आफन्तले बताएका छन् । अबेर राति पारिवारिक जमघटबाट फर्किएका सिंघल आफ्नै घर अगाडिको पार्किङमा कुटिएका हुन् । ६ लेन सडकको पल्लो किनारमा हिँडिरहेका ती चारै जना युवाले बिनाकारण विकास सिंघलको करङ्ग र नाकको डाँडी भाँचिनुको साथै टाउको फुटेको र दाँत तथा अनुहारमा चोटपटक लागेको आफन्तले बताए । तर, कुटपिटमा संलग्न भनिएका युवाकाे समूहले भने सिंघलले मध्यरातमा मदिरा सेवन गरेर हाेहल्ला गर्दै सिसाले हात काटिएर रगत बगिरहेकाे अवस्थामा भेटेकाे बताएका छन् । कपडाले हात बाँधिदिएर निस्किने क्रममा मदिराकाे नसामा लठ्ठा विकास सिंघलले गालीगलाैज गरेपछि आवेशमा कुटपिट गरिएको दाबी गरेका छन् । नजिकैको हाेटलमा बास बसेका उनीहरू सडकमा हिडिरहेकाे अवस्थामा सिंघल भेटिएका थिए । उपचारपछि डिस्चार्ज भइसकेका सिंघलका दाजु प्रदीपले जिल्ला प्रहरी कार्यालयमा ठाडाे निवेदन दिएपछि एक जनालाई पक्राउ गरेकाे थियाे तर उनले किटानी जाहेरी नदिएका कारण प्रहरीले उनलाई बाेलाएका बखत आउनेगरि छाडेकाे थियोे । मदिराकाे नसाकाे सुरमै कुटपिटमा उत्रिएको समूहले माफी मागेमा मुद्दा नगर्ने आश्वासन दिएर सिंघलले उनीहरूलाई घरमै बाेलाएकाे पाइएकाे छ। उनीहरूले शुक्रबार घरमा पुगेर आफूबाट गल्ती भएको भन्दै माफी समेत मागेका थिए तर सिंघलले भने आमाबुवा समेत बाेलाउनुपर्ने अडान लिएका थिए । सिंघलले प्रदेश र जिल्लाका उच्च पदस्थ प्रहरी अफिसरसँग राम्रो सम्बन्ध रहेकाे भन्दै जतिबेला जे पनि गर्नसक्ने तागत रहेकाे दाबि गर्दै थ्रेट गरेकाे उनीरहरूकाे आराेप छ ।अफिसरहरूलाई सिद्वार्थ लगायतका हाेटलमा खानपिन समेत गराउने सिंघलले बताएका थिए । उनकाे घरमै भएको छलफलमा कुटपिट गर्नेहरूकाे सार्वजनिक बेइज्जत गर्न मिडियाकाे समेत राम्रो प्रयाेग गर्ने बताएका थिए । तर सिघलकाे पक्षले भने उक्त राति घर अगाडिको पार्किङमा इभी हायस पार्किङ गरिएको र उक्त हायसको चालकलाई गाडी हटाउन बोलाउँदा रोडपारि पुरवार पेट्रोल पम्पतर्फ हिँडिरहेका चारैजना आएर बिना कारण निर्घात कुटपिट गरेको बताएकाे छ । सिंघलकी पत्नी डाक्टर अनिसा अग्रवालले उनीहरूले तीन पटकसम्म फर्केर निर्घात कुटपिट गरेको दिनेशखबरसँगकाे कुराकानीमा बताएकी छन् । पाँच वर्षीय छोरीको अगाडि श्रीमान् आफूमाथि कुटपिट भएको अनिसाले बताएकी छन् । उनले घटना बारे कैलाली प्रहरीमा ठाडो निवेदन दिएको बताइन्। निवेदनकै आधारमा कुटपिटमा संलग्न एक युवा पक्राउ परेको भए पनि उनलाई प्रहरीले हाजिरी जमानीमा छोडेको छ। कैलाली प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले पीडितको पक्षबाट किटानी जाहेरी नआएकाले पक्राउ परेका युवालाई हाजिरी जमानीमा छोड्नु परेको बताए।प्रहरीले भने याे घटनामा किटानी जाहेरी आएपछि तत्काल अनुसन्धान प्रकृिया अघि बढ्ने जनाएको छ ।

छुटाउनुभयो कि ?