“पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा महासङ्घ सधैँ अग्रपंक्तिमा छ” :- अध्यक्ष देउवा


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १७ चैत्र २०८२, ०९:१९ मा प्रकाशित

धनगढी, १६ चैत / नेपाल पत्रकार महासङ्घ कैलाली जिल्ला शाखाले ७१औँ स्थापना दिवस विविध कार्यक्रमसहित हर्षोल्लासका साथ मनाएको छ। स्थापना दिवसका अवसरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुका साथै साँझ महासङ्घ कार्यालय अगाडि दीप प्रज्वलन गरिएको थियो। कार्यक्रम नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न भएको हो। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष देउवाले पत्रकारहरूको हकहित संरक्षणमा महासङ्घ सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासङ्घ विगतदेखि नै अग्रपंक्तिमा उभिँदै आएको र आगामी दिनमा पनि त्यही भूमिकामा रहने बताए। उनले पछिल्लो समय केही सञ्चारकर्मीहरू पत्रकारिताको मर्म र धर्मविपरीत गतिविधिमा संलग्न भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै आचारसंहिता पालनामा विशेष जोड दिए । यस्तै दीप प्रज्वलन कार्यक्रममा पनि अध्यक्ष देउवाले आचारसंहिताविपरीत समाचार प्रकाशन नगर्न अनुरोध गरे ।उनले पत्रकारितालाई पेशागत धर्मका रूपमा आत्मसात गर्दै मर्यादित र जिम्मेवार पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई अपिल गरेका छन्।

छुटाउनुभयो कि ?