धनगढी । सुदूरपश्चिममा दुई महिनादेखि सम्पर्कविहीन भएका एक प्रहरी सहायक हवलदारको जागिर गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत रहेका बेला गत ६ माघदेखि सम्पर्कविहीन भएका सहायक हवलदार देवबहादुर मौनी संगठनको सम्पर्कमा नआएपछि जागिर स्वतः खारेज भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले मौनीसहित सम्पर्कविहीन भएका प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको थियो तरपनि उनी सम्पर्कमा नआएपछि नियमअनुसार सेवाबाट हटाइएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले मौनी सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले नियमावलीअनुसार उनलाई सेवाबाट हटाएको बताए । इलाका प्रहरी कार्यालय झलारीमा दरबन्दी भएका उनी काजमा इलाका प्रहरी कार्यालय मालाखेतीमा खटिएका थिए । माघ ५ गते हाजिर भएर डिउटी गरेका उनी केही दिनपछिदेखि परिवारको सम्पर्क बाहिर गएका थिए ।
श्रीमान–श्रीमतीबीच मनमुटाव
प्रहरी स्रोतकाअनुसार मौनी दम्पत्तीबीच आपसी मनमुटाव थियो । श्रीमान–श्रीमतीको घर झगडा इप्रकासम्म पुगेको थियो । तर, इलाका प्रहरी कार्यालयले आपसमै मिलाउन अनुरोध गरेको थियो ।उनकी श्रीमती सीता पौडेलकाअनुसार मौनी कुनै अर्को युवतीसँग टेलिफोनमा कुराकानी गर्थे । त्यो कुरा थाहा पाएपछि उनीहरुबीच भनाभन भएको थियो । त्यसपछि आफ्नो मोबाईल फुटाएर श्रीमान डेराबाट निस्किएको उनी बताउँछिन् । उनकाअनुसार कैलालीको घोडाघोडी घर भएकी युवतीसँग मौनीको कुराकानी हुुने गरेको थियो । २४ पुसमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ती युवतीले उनकी श्रीमतीको नाममा आफूमाथि गालीगलौज गरेको र पैँसा खाएको आरोप लगाएको भन्दै उजुरी गरेकी थिइन् । त्यो विषयमा छलफल गर्न सीतलले जिप्रका कञ्चनपुरसमेत पुगेकी थिइन् । सोही क्रममा दुवै जनाबीच फोनमा हुने कुराकानीको विषयमा श्रीमतीसँग झगडा पर्ने गरेको थियो । सीतलले मौनीसँग २०७२ सालमा प्रेम विवाह गरेकी थिइन् । उनीहरूका ९ वर्ष र २० महिनाका दुई छोरा छन् । हाल श्रीमती अत्तरियामा भाडामा बस्दै आएकी छन् । श्रीमान सम्पर्कविहीन भएपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको छ । अहिलेसम्म मौनीको तलब आइरहेको भएपनि अब जागिर खारेज भएसँगै आयस्रोत पूर्ण रूपमा बन्द भएको छ । बालबालिकाको पालनपोषण र दैनिकी चलाउन समस्या भएको परिवारले जनाएको छ । प्रहरीले मौनीको खोजी कार्य जारी रहेको जनाएको छ । मौनीका बुवाले समेत इलाका प्रहरी कार्यालय मालाखेतीलाई छोराको खोजी गरिदिन अनुरोध गर्दै आएका छन् ।












