अध्यक्ष ओली पक्राउको विरोधमा धनगढीमा प्रदर्शन, रिहाइको माग


हेल्लो सुदुर हेल्लो सुदुर शनिबार, १४ चैत्र २०८२, १८:१८ मा प्रकाशित

धनगढी: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ। नेकपा एमालेका जनवर्गीय संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि विरोध प्रदर्शन गरेका हुन्। एमाले पार्टी कार्यालय धनगढीबाट सुरु भएको विरोध र्‍याली विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। र्‍यालीमा सहभागीहरूले सरकारले राजनीतिक पूर्वाग्रह राख्दै आफ्ना नेताहरूलाई पक्राउ गरेको आरोप लगाउँदै चर्का नाराबाजी गरेका थिए। जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा बोल्दै एमालेका नेताहरूले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले सरकारले प्रतिशोधपूर्ण ढंगले अध्यक्ष ओलीसहित कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको आरोप लगाए। नेताहरूले राजनीतिक आस्थाका आधारमा गरिएका यस्ता पक्राउले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुगेको बताएका छन्। उनीहरूले सरकारलाई तत्काल आफ्नो निर्णय सच्याउँदै दुबै नेताको रिहाइ गर्न आग्रह गरेका छन्। कार्यक्रममा बोल्ने वक्ताहरूले यदि अध्यक्ष ओलीलाई शीघ्र रिहा नगरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। उनीहरूले देशभर आन्दोलन विस्तार गर्ने तयारीसमेत रहेको बताएका छन्। प्रदर्शनका क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

छुटाउनुभयो कि ?