कैलाली — कैलाली जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका–२ हल्दुघाट तथा वडा नं.–३ त्रिनगर क्षेत्रमा भारतबाट ल्याइएका अन्दाजी रु.१ लाख ५ हजार बराबरका चिनी, पेयपदार्थ, बिडी, सुर्ती र चुरोट लगायतका सामग्री शनिबार प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको गस्ती टोलीले उक्त सामग्री बरामद गरी आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ। यसैबीच, कैलालीकै चुरे गाउँपालिका–५ भासु गाउँ निवासी ४७ वर्षीय दुर्गा अर्खाली मृत अवस्थामा फेला परेका छन्। बाख्रा चराउन घर नजिकैको जंगल गएका अर्खाली राति अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा उनी भिरबाट लडेको अवस्थामा बिहीबार राति मृत फेला परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












