कैलाली । धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट ५६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित २३ वर्षीय बलराम राना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा रानाको साथबाट उक्त पदार्थ फेला पारेको हो। उनलाई आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कञ्चनपुर स् कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकबाट २ ग्राम १७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३६ वर्षीय डम्बर सिंह कुँवर पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो। उनलाई पनि आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दार्चुलाको महाकाली नगरपालिका–१ लास्कु खोलाबाट ८ ग्राम चरेस जस्तो देखिने लागूऔषधसहित २२ वर्षीय विराज कामी पक्राउ परेका छन्। सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको हो। उनलाई आवश्यक प्रक्रिया पूरा गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।












