कैलाली, धनगढी — जिल्ला कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित सिसा पोस्ट नजिकबाट भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी रु. २१ हजार बराबरका कुर्ता–सुरुवाल लगायतका सामान प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। यसैगरी, फैसला कार्यान्वयनका क्रममा जिल्ला अदालत कैलालीको विभिन्न मितिका फैसलाबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना २५ दिन कैद सजाय तोकिएका कैलाली टिकापुर नगरपालिका–१ पशुहाट बजारका २८ वर्षीय युवराज थापा रहेका छन्। त्यस्तै, जबरजस्ती करणी मुद्दामा रु. ३ लाख जरिवाना तोकिएका कैलाली बर्दगोरिया गाउँपालिका–५ का ३५ वर्षीय राजेश डगौरा पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार दुवै जनालाई मिति २०८२ चैत ६ गते नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।












