दार्चुला- लेकम गाउँपालिका मा प्रश्नपत्र टाइपिङ र प्रुफ रिडिङमा भएको गम्भीर लापरवाहीले स्थानीय तहको शैक्षिक प्रणालीप्रति नै प्रश्न उठाएको छ। सामान्य नेपाली टाइपिङसमेत त्रुटिपूर्ण भेटिएपछि प्रश्नपत्र निर्माणमा संलग्न कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाइएको छ भने सम्बन्धित शिक्षकहरूलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशी का अनुसार, प्राविधिक रूपमा त्रुटिपूर्ण रूपमा छापिएका प्रश्नपत्रहरूको भुक्तानी नगरिने निर्णय गरिएको छ। साथै, सम्बन्धित शाखा प्रमुखलाई समेत स्पष्टीकरण मागिएको छ। तर यो घटनाले स्थानीय स्तरमा व्यापक असन्तोष जन्माएको छ। “आफैँले तयार पारेको प्रश्नपत्रमा यति धेरै त्रुटि गर्ने शिक्षकले विद्यार्थीलाई कस्तो गुणस्तरीय शिक्षा दिन सक्छ?” भन्ने प्रश्न जनस्तरबाट तीव्र रूपमा उठ्न थालेको छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यति गम्भीर लापरवाही हुनु केवल एउटा सामान्य त्रुटि नभई प्रणालीगत कमजोरीको संकेत भएको भन्दै अभिभावक तथा सरोकारवालाहरू आक्रोशित बनेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै भविष्यमा यस्ता गल्ती नदोहरिने स्पष्ट व्यवस्था गर्न आग्रह गरेका छन्।












