गाडी विवाद नसेलाउँदै फेरि लापरवाही- लेकाम गाउँपालिकाको प्रश्नपत्रमै त्रुटि, कर्मचारीको गैरजिम्मेवारी उजागर


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, ६ चैत्र २०८२, ०९:१९ मा प्रकाशित

लेकाम, दार्चुला : सरकारी गाडी दुरुपयोग प्रकरणको चर्चा सेलाउन नपाउँदै लेकम गाउँपालिका पुनः अर्को विवादमा तानिएको छ। कक्षा ५ र ८ को पालिका स्तरीय परीक्षा चैत्र २ गतेदेखि सञ्चालन भइरहँदा कक्षा ५ को विज्ञान विषयको प्रश्नपत्रमै व्यापक त्रुटि भेटिएपछि पालिकाको शैक्षिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको हो। प्रश्नपत्रमा देखिएका त्रुटि सामान्य टाइपिङ चुकमा सीमित छैनन्। भाषा, वाक्य संरचना र विषयवस्तुसम्म असर पर्ने गरी दोहोरिएका गल्तीहरूले प्रश्नपत्र निर्माण प्रक्रियामा संलग्न कर्मचारीहरूको लापरवाही र गैरजिम्मेवारी प्रष्ट देखिएको स्थानीयहरूको भनाइ छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यस्तो कमजोरी देखिनु विद्यार्थीको मूल्याङ्कन प्रणालीमाथि नै आघात पुगेको रूपमा हेरिएको छ। अभिभावक तथा सरोकारवालाहरूले यस घटनालाई विद्यार्थीमाथि गरिएको प्रत्यक्ष खेलवाडको रूपमा व्याख्या गर्दै जिम्मेवारमाथि कडा कारबाहीको माग गरेका छन्। “प्रश्नपत्रजस्तो आधारभूत विषयमै यति धेरै त्रुटि हुनु स्वीकार्य छैन,” उनीहरूको भनाइ छ। विवाद चर्किएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सामाजिक सञ्जालमार्फत क्षमायाचना गर्दै दोषीमाथि कारबाही गर्ने र आगामी प्रश्नपत्र सच्याएर वितरण गरिने बताएका छन्। तर, केवल माफीले मात्र यस्तो गम्भीर लापरवाहीलाई ढाकछोप गर्न नसकिने भन्दै स्थानीय स्तरमा असन्तुष्टि कायमै छ। एकपछि अर्को विवादमा मुछिँदै गएको लेकम गाउँपालिकाको कार्यशैलीप्रति जनविश्वास कमजोर बन्दै गएको देखिएको छ। अब यस्ता घटनामा संलग्न कर्मचारीमाथि स्पष्ट छानबिन र कडा कारबाही नभएमा भविष्यमा यस्तै लापरवाही दोहोरिन सक्ने चिन्ता व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?