मनकामना दर्शन गरी फर्कँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, १ चैत्र २०८२, ११:२८ मा प्रकाशित

गोरखा। गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृतक दुई महिला र पाँच जना पुरुष रहेका छन् । गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टारमा हिजो बेलुका बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस दुर्घटना भएको हो । माइक्रोबसमा मनकामना दर्शन गर्न पुगेका १४ जना भारतीय तीर्थयात्री तथा चालक र सहचालक गरी १६ जना रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनाको तनहुँको आँबुखैरेनी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको गोरखा प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवम् प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?