धनगढी , २७ फागुन / सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेका ठाउँमा नेकपा एमाले मुख्य प्रतिस्पर्धी पनि बन्न सकेन । एमाले रास्वपा जितेका कुनै ठाउँमा तेस्रो चौथो भएको छ । सुदूरपश्चिममा नेपाली कांग्रेस जितेका २ ठाउँमा एमाले मुख्य प्रतिस्पर्धी भए पनि रास्वपा जितेका ५ क्षेत्रमा तेस्रो, ४ ठाउँमा चौथो र १ ठाउँमा पाँचौँ बनेको छ । रास्वपाले जितेको बैतडीमा एमाले तेस्रो, डडेल्धुरामा चौथो, कञ्चनपुर १ मा चौथो, कञ्चनपुर २ मा तेस्रो, कञ्चनपुर ३ मा तेस्रो बनेको छ । यस्तै कैलाली १ मा चौथो, कैलाली २ मा तेस्रो, कैलाली ३ मा पाँचौँ, कैलाली ४ मा तेस्रो र कैलाली ५ मा चौथो बनेको छ । एमाले नेपाली कांग्रेसले जितेका बाजुरा र डोटीमा भने मुख्य प्रतिस्पर्धी बनेको छ । नेपाली कांग्रेसले जितेको अछाम १ मा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुख्य प्रतिस्पर्धी बनेको छ । एमाले रास्वपा जितेका १० ठाउँमा मुख्य प्रतिस्पर्धी बन्न नसक्दा यी क्षेत्रमा कांग्रेस ७, नेकपा २ र नाउपा नेपाल १ ठाउँमा मुख्य प्रतिस्पर्धी बन्न सकेको छ । रास्वपा जितेको बैतडीमा कांग्रेस, डडेल्धुरामा कांग्रेस, कञ्चनपुर १ मा नेकपा, कञ्चनपुर २ मा कांग्रेस, कञ्चनपुर ३ मा कांग्रेस, कैलाली १ मा कांग्रेस, कैलाली २ मा नाउपा नेपाल, कैलाली ३ मा नेकपा, कैलाली ४ मा कांग्रेस र कैलाली ५ मा कांग्रेस मुख्य प्रतिस्पर्धी बनेका छन् । सुदूरपश्चिममा एमाले जितेका ३ ठाउँमा पनि नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी बनेको छ । समग्रमा सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्र मध्ये १० ठाउँमा कांग्रेस, ३ ठाउँमा नेकपा, २ ठाउँमा एमाले र १ ठाउँमा नाउपा नेपाल मुख्य प्रतिस्पर्धी बनेका छन् ।












