बाजुरा २६ फागुन/बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएकी छन् । प्रसूति व्यथा सुरु भएपछि उनलाई परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य इकाइतर्फ लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् । स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी विस्ना रोकाया घटनास्थलमै पुगेर सुरक्षित प्रसूति गराएकी थिइन् । स्थानीयका अनुसार कठिन भौगोलिक अवस्था र स्वास्थ्य संस्था टाढा भएकाले महिलालाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटोमै सुत्केरी हुनुपरेको हो । स्वास्थ्यकर्मी रोकायाले तत्कालै आवश्यक स्वास्थ्य सेवा प्रदान गरेपछि आमाले सुरक्षित रूपमा बच्चा जन्माएकी थिइन् । हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको जनाइएको छ । स्थानीय बासिन्दाका अनुसार दुर्गम क्षेत्रका कारण गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या हुने गरेको छ । सडक र यातायातको सुविधा अभावका कारण अझै पनि धेरै महिलाले घरमै वा बाटोमै बच्चा जन्माउने अवस्था रहेको उनीहरूको भनाइ छ । स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार भए पनि दुर्गम बस्तीहरूमा अझै सुरक्षित प्रसूति सेवामा चुनौती देखिएको यो घटना एउटा उदाहरण भएको स्थानीयले बताएका छन् ।












