दार्चुलाका ७ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत ल्याइने


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १३ फाल्गुन २०८२, ०८:०३ मा प्रकाशित

खलङ्गा (दार्चुला), फागुन १२/ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि दार्चुलाका सात वटा दुर्गम मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी विनोद दाहालका अनुसार व्यास गाउँपालिकाका शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित आधारभूत विद्यालय दुम्लिङ र रानीस्थान आधारभूत विद्यालय मालका साथै अपि हिमाल गाउँपालिकाका हिमालय आधारभूत विद्यालय पाथा, भवानी आधारभूत विद्यालय सिती, खण्डेश्वरी माध्यमिक विद्यालय र महिला सामुदायिक भवन सितोलाबाट मतपेटिका हवाईमार्गबाट ढुवानी गरिनेछ।
यसका लागि गृह मन्त्रालयमा अनुरोध पठाइसकिएको र सानो हेलिकोप्टर उपलब्ध हुने जानकारी प्राप्त भएको दाहालले बताए। मतपेटिकासँगै सम्बन्धित मतदान अधिकृतलाई पनि हेलिकोप्टरमार्फत ल्याइनेछ। बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले यस विषयमा सहमति जनाएका छन्। यद्यपि मौसम प्रतिकूल भए वा हवाई ढुवानीमा ढिलाइ हुने अवस्था आएमा सुरक्षा निकायको समन्वयमा पैदल वा सडकमार्गबाट वैकल्पिक व्यवस्था मिलाइने सहमति भएको प्रशासनले जनाएको छ। बैठकले निर्वाचनलाई शान्त, निष्पक्ष र व्यवस्थित बनाउन दलहरूबीच विभिन्न विषयमा समझदारी गरेको छ। मतदानका दिन दलका आधिकारिक प्रतिनिधिले मतदान केन्द्रमा समन्वयात्मक भूमिका निर्वाह गर्ने, प्रचार–प्रसार नगर्ने तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अक्षरशः पालना गर्ने, मतदान केन्द्र वरपर निषेधित गतिविधि नगर्ने र ४८ घण्टे मौन अवधिको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ। सामाजिक सञ्जालसहित कुनै पनि माध्यमबाट मत माग्ने गतिविधि नगर्न दलहरूले आफ्ना कार्यकर्तालाई निर्देशन दिने जनाइएको छ। मतपेटिका ढुवानीका क्रममा सवारी साधनको सिट सीमित भएकाले आवश्यक परे दलहरूबीच समन्वय गरी साझा प्रतिनिधि पठाउने समझदारी गरिएको छ। साथै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायले निर्धारण गरेको सुरक्षित मार्गबाट मात्रै मतपेटिका ढुवानी गर्ने र तोकिएको समयमै मतगणना स्थलमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ। मतदानका दिन कुनै विवाद उत्पन्न भए तत्कालै मतदान अधिकृत र दलका प्रतिनिधिबीच छलफल गरी समाधान गर्ने तथा मतदान प्रक्रिया अवरुद्ध हुन नदिने सहमति समेत बैठकले गरेको छ। बैठकमा नेकपा एमालेका उमेशराज जोशी, नेपाली कांग्रेसका पुलेन्द्रबहादुर कार्की, राप्रपाका देवबहादुर बम, रास्वपाका परमानन्द बडू, नेकपाका गणेशसिंह खत्री र नेकपा संयुक्तका शेखरचन्द्र बडू सहभागी थिए। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

छुटाउनुभयो कि ?