साहसी असई रामसिंहद्वारा १३ वटा खच्चडको उद्धार


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ३१ जेष्ठ २०८१, १०:५८ मा प्रकाशित

अछाम, ३१ जेठ । कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुल पार गर्दै गरेका मध्ये १३ वटा खच्चड पुलकै बिचमा अड्किए । स्थानीय स्रोत साधन अभावले खच्चडको उद्धार सम्भव भएन । तर इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाउनुभयो । आज उहाँले गरेको कार्यको सबैले प्रशंसा गरेको छ ।
लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भए पनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएको १३ वटा खच्चडको ज्यान बनाउन सफल हुनुभयो ।
गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भएको थियो । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका ४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेको थियो ।
उहाँको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार भयो तर खच्चडलाई पुलबाट खोलामा फालिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार भयो भने दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए ।
उद्धारमा दर्शकका रूपमा जिल्लाका उच्च ओहोदाका कर्मचारीदेखि सर्वसाधारणको उपस्थिति थियो । अछाम र दैलेखबाट जनपथ प्रहरी, अछामबाट सशस्त्र प्रहरी र स्थानीयले उद्धारमा सहयोग गरेका थिए ।
सबैको योगदान भए पनि उद्धारमा ज्यान बाजी राखेर असई रामसिंह फरालले आँट नगर्ने हो भने उद्धार सम्भव नभएको स्थानीय प्रत्यक्षदर्शीहरूको भनाई छ । उहाँको साहसलाई सबैले सम्मान गरेका छन् ।
असई फराल भन्नुहुन्छ, सुरुसुरुमा कसरी खच्चड निकाल्ने भन्ने मेसो नै भएन, जब खच्चडहरू पीडाले छटपटेको देखेँ तब मेरो मनले मानेन । अनि मैले कुनै सुरक्षा विना नै पुलमा एक हातले झुन्डिएर उद्धारमा खटेँ ।
उद्धारमा खटिएका साथीहरूले धेरै जोखिम नगर्न सुझाव दिए पनि फरालको मनले मानेन, उहाँको जवाफ थियो आँखै अगाडि मर्न कसरी दिनु ।
सङ्कटकालमा गरेको तालिमले साथ दियो
रामसिंह फराल प्रहरी सङ्गठन भित्रको पुरानो मान्छे हुनुहुन्छ । उहाँ २०५८ सालमा सङ्कटकालको समयमा माओवादीको सशस्त्र युद्ध चर्केको बेलामा प्रहरीमा भर्ती भएका हुनु भएको हो । उहाँलाई सुरुमा प्रहरीमा भर्ना हुनु भनेको एक न एक दिन लडाइँमा परेर मर्नु हो भन्ने लागेको थियो ।
छिन छिनमा आफू बच्ने र सुरक्षा दिने कुरामा उनी ढुक्क हुनुहुन्थ्यो । सङ्कटकालमा माओवादी सेनासँग जुनसुकै बेला जम्काभेट हुनसक्ने भएकाले आफू जुनसुकै बेला मारिन सक्छु भन्नेमा उहाँ ढुक्क जस्तै हुनुभएको थियो । त्यही भएर होला फरालले तालिममा सक्दो राम्रो गर्नुभयो । त्यही बेला आफू बाँच्नका लागी गरेको तालिमले फराललाई पुलमा खच्चडको उद्धार गर्न मद्दत पुग्यो ।

छुटाउनुभयो कि ?