प्रतीक्षा जैशी
पुनर्वास, २२ जेठ/
जिल्लाको पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. बजारमा चालु दुई सोलार अलपत्र देखिएको छ ।
अटोचोक नजिकैको चालु अवस्थामा रहदै आएको सोलार करिब तीन हप्तादेखि नजिकैको पैसठ्ठी विगाह क्षेत्रमा अलपत्र देखिएको हो । अलपत्र सोलारका विषयमा पुनर्वास नगरपालिका–३ का प्राविधिक लालमन तामाङले भने अलपत्र नभएर जडानका लागि त्यहाँ राखिएको बताए ।
“निर्माण कार्य गर्नुपर्ने र तत्कालै नजिकै जडान गर्नुपर्ने भएकोले त्यहाँबाट हटाएर पैसठ्ठी विगाहमा राखेका हौं, अब एक दुई दिनमै जडान हुन्छ ।” उनले भने “अन्यले जडान गर्न नसक्ने र सम्बन्धित टेक्स्निसियनले मात्रै जडान गर्न सक्ने भएका कारण समस्या हुन पुगेको हो तर अलपत्र चाहीँ भइहालेको छैन ।”
तर कालिका बजार समितिका सदस्य राजेन्द्र पौडेलले सडक निर्माण अवधीमा निकालिएपछि सोलार बत्ती अलि सुरक्षित साथ व्यवस्थित तरिकाले राखिनुपर्ने बताए । “हेर्दा बेवारिसे अवस्थामा जस्तो सोलार बत्ती सहितको पोल फ्याकिएको छ ।” उनले भने “सरकारी काम भएका कारण पनि मतलब नभएको हुन सक्छ ।”
बजेट र सरकारी सम्पत्तिप्रति यतिखेर सम्बन्धित निकाय र स्थानीय जिम्मेबार बन्नु पर्ने अर्का स्थानीय सुजित तामाङले जिकिर गरे ।
“न सम्बन्धित निकायको ध्यान छ, न त्यहाँका स्थानीय टोलको ध्यान नै ।” उनले भने “राज्यले बजेट चिलिम पारेपछि वास्ता गर्दैन अनि स्थानीय टोलका बासिन्दाले हाम्रो थोडी न हो, खेर जान्छ त सरकारको जान्छ भन्ने गरिब मानसिकता राख्छ अनि कहाँबाट राज्यको सम्पत्तिको जगेर्ना हुन्छ ?”
पुनर्वास नगरपालिकाको यो सोलार बत्ति त एक उदाहरण मात्रै हो । हरेक योजनामा यस्ता अनेकौं समस्या छन् तर समस्यालाई समाधानतर्फ लाइजानुको सट्टा सरोकारवालाहरु मूकदर्शक बन्ने प्रवृत्तिले यतिखेर पुनर्वास समस्यामय बन्दै गएको छ ।
उक्त सोलार प्रदेश सरकारको कार्यक्रम अन्तर्गतको वर्षेनी थप हुने अनुदानबाट प्राप्त भएको थियो ।












