सदनबाटै सांसद तामाङले भने, “उखु किसानको अनुदान यथाशीघ्र उपलब्ध गराइदिनोस्”


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, २१ जेष्ठ २०८१, १८:०६ मा प्रकाशित

प्रतीक्षा जैशी
कञ्चनपुर, २१ जेठ /
सांसद तारा लामा तामाङले उखु किसानहरुको अनुदान रकम यथाशीघ्र उपलब्ध गराइदिन भनेका छन् ।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले कञ्चनपुरका करिब ४ सय ४७ जना उखु किसानहरुको अनुदान रकम यथाशीघ्र उपलब्ध गराइदिन भनेका हुन् ।
नेपाल सरकारले उखु किसानहरुलाई प्रति क्वीन्टल ७० रुपैयाँको दरले उपलब्ध गराउँदै आएको उखुमा अनुदान रकम पटक–पटक माग गर्दै आए पनि अझै उपलब्ध नभएको सांसद तामाङले जिकिर गरे ।
“कार्यविधि भन्दा पछि दर्ता भएका कञ्चनपुरका करिब ४ सय ४७ जना उखु किसानहरुको अनुदान रकम छुट भएपछि, जिल्ला उखु अनुदान भुक्तानी समितिले गत वर्षको भाद्रदेखि र भुक्तानी समितिको बैठकमार्फत गत बैशाखदेखि नै अनुदान भुक्तानीको लागि माग गर्दै आएको थियो ।” सांसद तामाङले भने “म स्वयंले सो क्षेत्रको जनप्रतिनिधिको हैसियतले यस सदनमा र सम्बन्धित निकाय तथा मन्त्रालयमा भुक्तानीको लागि माग गर्दै आएकोमा, हाल सम्म पनि अनुदान रकम भुक्तानी नभएकोले यथाशीघ्र उखु किसानहरुलाई अनुदान रकम उपलब्ध गर्न गराउँन यस सदनमार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछु ।”
सांसद तामाङले गत हप्ता मात्रै अनुदानकै विषयमा कृषि तथा पशुपञ्क्षी विकास मन्त्री माननीय ज्वालाकुमारी शाहसँग भेटवार्ता गरेका थिए ।
सांसद तामाङ प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कञ्चनपुर १ बाट प्रतिनिधि सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित पुनर्वासका एक क्षमतावान राजनीतिज्ञ हुन् ।

छुटाउनुभयो कि ?