नायल ताल जसले गाउँको अस्तित्व जोगायो


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १६ जेष्ठ २०८१, २०:१४ मा प्रकाशित

भिम चौधरी
कैलाली, १६ जेठ
कैलालीको गोदावरी नगरपालिका–१२, नायलका स्थानीय बासिन्दा नायल तालले गाउँको अस्तित्व जोगाएको भन्न रुचाउछन् ।
स्थानीय हिक्मत खत्रीले नायल ताल नभएको भए नायल गाउँको अस्तित्व नै नरहने बताउछन् । ‘नायल तालले हाम्रो गाउँको अस्तित्व जोगाएको हो’ स्थानीय हिक्मत खत्रीले भने, ‘नायल तालको मुलको पानीले हाम्रो अस्तित्व जोगिएको हो । हामी यही मुलको पानी खाएर बाचेका हौं ।’ अर्का स्थानीय कमलसिंह खत्रीले बर्षौ तालको मुलको पानी पिएर बाचेको बाचेको बताए । खत्रीले भने, ‘बासीन्दा कैलालीको गोदावरी नगरपालिकाको तर, डडेल्धुराको परशुराम नगरपालिकाको पानी पिउन थालेको तीन वर्ष भयो ।’ ‘परशुराम नगरपालिका–११, पत्रेनीस्थित मुलबाट चार किलोमिटर पाइप तानेर पानीको जोहो गरेका छौं’ खत्रीले भने, ‘इन्टेक भत्किने अवस्थामा पुगेको छ यो वर्षको बाढीले भत्काइदिएपछि त्यही नायलको मुलकै सहारा त लिनुपर्ला ।’ ‘यो क्षेत्रमा एक सय ४० घरघडेरी छ’, उनले भने, ‘अहिले हामी १७ घरधुरी बसीरहेका छौं ।’
चार जिल्लाको सीमामा रहेको प्राकृतिक सौन्दर्यताले भरिभराउ चुरे पर्वतमा अवस्थित प्राकृतिक तालले सो क्षेत्रका बासिन्दाको अस्तित्व जोगाएको भएपनि संरक्षण र संवद्र्धनको अभावले भने ओझेलमा छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बंकबाट २० किलोमिटर उत्तर कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नायल ताल ओझेलमा परेको हो । स्थानीय हरीश बोहराले भने, ‘ताल ओझेलमा पर्नु भनेको नायल गाउँ ओझेलमा पर्नु हो । जसले गाउँको अस्तित्व जोगायो त्यही ताल ओझेलमा पर्नु हाम्रो लागि दुःखको कुरा हो ।’
ताल संरक्षणका लागि सरकारी निकायबाट पहल नहुँदा ताल पुरिँदै गएको बिरु बोहराले बताए । ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण र प्राकृतिक सौन्दर्ययताले भरिभराउ नायल ताल संरक्षणका लागि सरकारले उचित कदम चाल्नु आवश्यक रहेको बिरु बोहराको भनाई छ । ‘सामान्यतया उत्तरदेखि दक्षिण पानी बहन्छ’ बिरु बोहराले भने, ‘तर, चारैतिर डाँडाले घेरिएको नायल तालको पानी दक्षिणदेखि उत्तर बगेको छ ।’
स्थानीय हरीश बोहराका अनुसार तालसम्म पुग्न पर्यटन मन्त्रालयको ३० लाख बजेटमा चार सय ६० खुड्किला बनाइएको छ । खुड्किलाको सहायताले तालसम्म सहजै पुग्न सकिन्छ ।
करिव एक किलोमिटर लम्बाइ, तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको तालमा वर्षभरि पानी रहने बिरु बोहराले बताए । स्थानीयका अनुसार ताल धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ ।
विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रूपमा परिचित गाउँमा रहेको नायल ताल संरक्षणमा तीनै तहको सरकारले चासो दिनुपर्ने स्थानीयहरुको आग्रह छ ।
स्थानीयका अनुसार प्राचीनकालमा गणपति राजाका सेनाले मानिस काटेर राजाका लागि मासु लग्ने गरेको किम्बदन्ती रहेको छ । ‘राजाले मानिसको मासु खान पल्केपछि गाउँमा सबै मानिस मार्दै खाने क्रम चल्यो । त्यतिवेला राक्षसी राजासँग मानिस र देवताको लडाइँ भयो ।’ मानिसको रक्षाका लागि देवता समेत राजासँग लडे । गणपति राजाको नाभी काटियो । त्यसपछि ताल खुनले भरिभराउ भयो । उक्त लडाइँमा मानिस र देवताको विजय भएको किम्बदन्ती नायल तालसँग जोडिएको स्थानीयहरुको भनाई छ ।
ताल क्षेत्रमा भगवती, सिद्ध भगवती र घन्टेश्वर कालिका गरी तीन देवताको पूजा गरिने प्रचलन रहेको स्थानीयले बताए । चैते दशै र मंसिरमा यस क्षेत्रमा ठूलो मेला लाग्ने गरेको स्थानीयहरुको भनाई छ ।
नायलसम्म कुनै पनि सार्वजनिक सवारी साधन नचल्ने गरेको स्थानीयहरुको भनाई छ । ‘सडक बनिरहेको छ । सुक्खा सिजनमा जीप सहजै पुग्न सक्छ । तर, गाडी चल्दैन’ स्थानीय हरीश बोहराले भने, ‘गाडीको हामीलाई साह्ै दुःख छ । कोही बिरामी परे राजमार्गसम्म पुग्न चार घण्टा लाग्छ ।’ बोहराले भने, ‘सार्वजनिक गाडी चल्दैन तर, खाली भएको समय परेछ भने जीपवाला आइदिन्छन् । भाडा भने चार सय रुपैयाँ लिन्छन् ।’
काफलको सिजनमा भने कैलाली र कञ्चनपुरबाट थुपै्र पर्यटक यहाँ पुग्ने गरेको स्थानीयहरुको भनाई छ । बैशाख दोश्रो सातापछि काफल खान निजी सवारी लिएर काफल खानेको भिड लाग्ने गरेको स्थानीयहरुको भनाई छ । तराईमा उखरमाउलो गर्मी भएपनि नायल क्षेत्रमा भने अहिले पनि सितलता हुने गर्छ । बैशाख÷जेठमा पनि दिउँसो पङ्खा चलाउनु पर्दैन भने रातको समयमा कम्बल ओढ्नुपर्छ ।
नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमबिक्रम सिंहले नायल क्षेत्रमा होम–स्टे बनाउदा उचित हुने स्थानीयलाई सुझाब दिए । अध्यक्ष सिंहले स्थानीयहरुसंग कुरा गर्दै भने बाटो राम्रो बन्दैछु तपाईहरु होम–स्टे चलाउनुहोस् मान्छे ल्याउने काम हामी गर्छौ ।

छुटाउनुभयो कि ?