कञ्चनपुर, १ जेठ/
प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेसलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आठ जना महिला छन् । पक्राउ परेका सबैलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । प्रहरीले फागुनमा लागूऔषध मुद्दामा ३०, चैतमा २४ र वैशाखमा २३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूबाट छ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइनसमेत प्रहरीले बरामद गरेको छ । “कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा बढी कैदीबन्दी लागूऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो ।
प्रहरीले फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ फरार अभियुक्तलाई पक्राउ गरेको हो । यसैगरी प्रहरीले तीन महिनायता नेपाल-भारत सिमानाकाबाट ४९ जनाको उद्धार गरेको छ । हराएका ९७ मध्ये ६२ जना फेला परेका प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।












