डोटीमा दुई नक्कली डाक्टर नियन्त्रणमा


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १ जेष्ठ २०८१, १८:२४ मा प्रकाशित

डोटी। डोटीमा स्वास्थ्य शिविर चलाएका दुई नक्कली डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुस्कर गुनीयाल र दार्चुलाको महाकाली नगरपालिका–४ का ४४ वर्षीय भुपेन्द्रबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा गत वैशाख २७ देखि ३० गतेसम्म शिविर सञ्चालन गरेका थिए।

शिविरमा २३० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । बिरामीहरुबाट होल बडी चेकअप भनेर पाँच सयका दरले एक लाख १५ हजार असुल गरिएको बताइएको छ । त्यस्तै स्वास्थ्य परीक्षण गराउने अधिकांश बिरामीहरुलाई रोग निको हुने भन्दै पाँच हजार रुपैयाँका दरले ब्रासलेट, एटिएम जस्तो कार्ड खरिद गर्न लगाइएको समेत बताइएको छ ।

ठगिएका बिरामीहरुले तथ्य जाँच नगरी शिविर आयोजना गर्ने वडा कार्यालय, नक्कली डाक्टर भिडाउने व्यक्तिको समेत अनुसन्धान हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दुबै जनासँग सोधपुछ गरिरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?