८८ वर्षपछि १५० बढी घर भएको जग्गा अर्कैले गरे दाबी, स्थानीय सशंकित


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ३१ बैशाख २०८१, १८:२७ मा प्रकाशित

धनगढी, ३१ वैशाख/
काठमाडौंका एक स्थानीयले कैलालीको धनगढी उपमहागरपालिको वडा नम्बर १८ को विभिन्न कित्ताको जग्गा आफ्नो भएको भन्दै निवेदन पेस गरेका छन ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३३ का प्रद्युम्न राज पाण्डेयका वारेस धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेय समेतको वारेस दिलिप सापकोटा समेतले वडा नम्बर १८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भन्दै प्रमाणसहित भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा निवेदन पेस गरेका हुन् ।
स्वर्गीय गुरु पुरोहित पण्डित जनकराज पाण्डेयले विक्रम संवत् १९९३ मा लालमोहरबाट प्राप्त गरेको जग्गा विक्रम संवत् २०२१ मा नाप नक्सा हुँदा छुट्न गएकोले सो जग्गा आफ्नो नाममा दर्ता गरिदिन मालपोत कार्यालय धनगढीमा निवेदन दिएको बताइएको छ ।
उनीहरूले धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को सिट नम्बर ०२७÷१०९६ को कित्ता नम्बर १,८,९,६२,११९,१०,११, १२, १६, १७, २१ र २२३ क्षेत्रफल क्रमशः २१२६६०।५७, १०२९७६।९६,४९९१४२।१५,३७०७७९।९८,२०९९५।०६,३३८६।३०,५८२२७।२७,२८६१४।४८,१२८६७।९४,३३०३३३।५६ छुट जग्गा दर्ता अन्तर्गत निवेदकका नाउँमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालयमा निवेदन पेस गरेका छन ।
मालपोत कार्यालयले प्लट रजिष्टर, फिल्डबुक, स्थानीय तहको सिफारिस समेत संलग्न राखी निवेदन दिएकोले निवेदकको माग अनुसारका कित्ता जग्गाहरू दर्ता गरी दिँदा साध संधियारको जग्गालाई असर पर्ने भए वा गर्नु नपर्ने भए आफूसँग भएको प्रमाणसहित ३५ दिन भित्र हकदाबी गर्न आव्हान गरेको छ ।
उनीहरूले आफ्नो हो भनेर निवेदन पेस गरेको जग्गामा अहिले डेढ सय बढी घर छन । स्थानीयका अनुसार उनीहरूले डेढ बिगाहा बढी जग्गा आफ्न्नो भएको दाबी गरेका छन । दाबी गरेको जग्गामा बसोबास गरिरहेका स्थानीयहरूसँग पनि लालपुर्जा भएको बुझिएको छ । ८८ वर्षपछि सो जग्गा आफ्नो हो भन्दै दाबी गरेपछि अहिले वडा नम्बर १८ का स्थानीय सशंकित बनेका छन् ।
स्थानीयहरूले आफूहरू लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा समेत हुँदा अर्कैले हक दाबी गर्दा त्रासको वातावरण सिर्जना भएको बताएका छन । मालपोत कार्यलयबाट बैशाख पहिलो साता नै सूचना सार्वजनिक हुँदा पनि वडा कार्यालयले त्यसको जानकारी आफूहरूलाई नगराको बताउँदै वडा कार्यालयको जिम्मेवारी र भूमिकामाथि पनि प्रश्न गर्नु पर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले यो घटनाले स्थानीयमा असुरक्षित र भयको वातावरण सिर्जना गरेको बताए । उनले भने, ‘अब सबै पक्ष बसेर समस्याको समाधान गरिनेछ ।’
भूमिसुधार तथा मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले यस विषयलाई लिएर स्थानीयले त्रसित हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘आफूहरूले पनि अनौपचारिकरूपमा अधिकांश जग्गाको लालपुर्जा भएको जानकारीमा आएको छ ।’ ‘जग्गाको लालपुर्जा अर्को व्यक्तिको नाममा छ भन्ने जानकारी आएको छ’ उनले भने, ‘धेरैले दाबी पनि गरिरहेका छन, लालपुर्जा नै छ भने फरक पर्दैन, त्यसको पनि प्रक्रिया हुन्छ, लालपुर्जा पाउनुभन्दा पहिले धेरै प्रक्रिया हुन्छ, जोसँग लालपुर्जा छ, उहाँहरूले डराउनु पर्दैन ।’

छुटाउनुभयो कि ?